काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखा समितिको सभापति नेपाली कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
रास्वपाले प्रतिनिधि सभा अन्तर्गतका १४ मध्ये ११ समितिको नेतृत्व भने आफैले राख्ने भएको छ।
जसका लागि रास्वपाले समितिका सभापतिहरुको समेत टुंगो लगाइसकेको छ ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मनिष झा, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रहबर अन्सारी रहनेछन् ।
कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा सुशान्त वैदिक रहनेछन् ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधि सभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।
प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । शुक्रबार समितिको सभापतिका लागि नेतृत्व चयन हुनेछ ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ ।
यसैगरी कांग्रेसले पनि लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ ।
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय समेत भएको छ।