काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे जताततै व्यापक आलोचना भएपछि त्यसबारे स्पष्ट पारेका छन् ।
बिहीबार रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा संघीय संसद सचिवालयको प्रांगणमा सञ्चारर्कीहरुसँग त्यसबारे आफ्नो स्पष्ट धारणा राखेका हुन् ।
'गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणको विषयलाई लिएर आएको प्रश्नको जवाफ दिनुभएको छ। संघीय संसद सचिवालयको प्राङ्गणमा उहाँले सञ्चारकर्मीहरुलाई जवाफ दिँदै अहिले आएको विवरण अनुसार उक्त सम्पत्ति आफ्नो हजुरबुवाको अंशबण्डा नहुँदैको रहेको र सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन सन्चारकर्मीहरुलाई अनुरोध गर्नुभयो,' गृहमन्त्रीको सचिवालयले भनेको छ ।
गत चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै त्यसबारे व्यापक प्रश्न उठेका छन् ।
गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग ८९ तोला सुन, ६ किलो चाँदी, बैंकमा गरी कुल ६१ लाख ६२ हजार ९ सय ५० रुपैयाँ बैंक मौज्दात,विभिन्न कम्पनीका गरी कुल २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर, चितवनमा ३० कठ्टा जग्गा, गोरखामा २२१ रोपनी जग्गा र ४७ लाख ९९ हजार रुपैयाँ बराबरको एमजी गाडी रहेको खुलेको छ ।
यसअघि पनि आफ्नो सम्पत्तिबारे आलोचना भएपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै जवाफ दिएका थिए ।
उनले लेखेका थिए- 'तिमी जन्मिदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन । सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।'
तर उक्त स्टाटसलाई लिएर विभिन्न टिका टिप्पणी भएपछि तत्कालै हटाएका थिए ।