काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेको छ।
अदालतले पूर्व सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गरेको हो।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै निर्वाचन आयोगको निर्णयलाई वैध ठहर गरेको हो।
आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको निर्णयविरुद्ध देउवा–खड्का पक्षले सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमा निर्वाचन आयोगको निर्णय संविधान, कानुन तथा कांग्रेस विधानविपरीत भएको दाबी गरिएको थियो। साथै विशेष महाधिवेशनको वैधानिकतामाथि पनि प्रश्न उठाइएको थियो।
तर सर्वोच्च अदालतले दाबी अस्वीकार गर्दै देउवा र खड्काको रिट खारेज गरेको छ। यससँगै निर्वाचन आयोगको निर्णयलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्यसमितिको वैधानिकता कायम भएको छ।
निर्णयपछि सभापति थापालाई पार्टी नेतृत्वमा काम गर्न थप सहज हुने अपेक्षा गरिएको छ। देउवा पक्षले भने १४औँ महाधिवेशनपछि उत्पन्न विवाद र विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै आएको थियो।