काठमाडौं । नेपाली कांग्रेसले आज सातै प्रदेशका सभापति, प्रदेश संसदीय दलका नेता, तथा पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूसँग छलफल गर्दैछ ।
आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने छलफलका लागि सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई बोलाइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकमा कांग्रेस नेतृत्वमा रहेका स्थानीय सरकारहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।
कांग्रेसले नेतृत्व गरेका प्रदेशमा मन्त्रिपरिषद्को संख्या घटाउने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।
त्यसैगरी बैठकमा गण्डकी प्रदेशमा हालै गरिएको मन्त्री हेरफेरको विषय पनि उठ्ने बताइएको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग परामर्श नगरी मन्त्री नियुक्त तथा हेरफेर गरेको विषयलाई लिएर छलफल हुने जनाइएको छ ।
मुख्यमन्त्री पाण्डेले यही बैशाख २ कांग्रेस र एमालेबीच ४/४ मन्त्रालय भागबन्डा रहेको अवस्थामा बुधबार मन्त्री परिवर्तन गरेका थिए ।
बिहीबार बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको थियो। कांग्रेस मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम गरी चार प्रदेशमा सरकारको नेतृत्वमा छ।
यसैबीच आजै कांग्रेसले काठमाडौं जिल्लाको निर्वाचन समीक्षा गर्न विस्तारित बैठक बोलाएको छ । धुम्बाराहीस्थित सूर्य क्याटरिङमा दिउँसो १२ बजेका लागि बोलाइएको बैठकमा पार्टीका सभापति गगन थापा प्रमुख अतिथि रहने बताइएको छ ।