काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारलाई कुनै विकल्पबिना उठिबास गराउन टहरा भत्काउने कार्य गरेको भन्दैआपत्ति जनाएको छ।
पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न सरकारसँग माग गरेको हो ।
'लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन । समुचित पुनर्बासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई विचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ।
साथै पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदुर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।
यसैगरी पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ। पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। साथै ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि-सम्झौताको उल्लंघन हुने उल्लेख गरिएको छ।
यस्तै नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ।