एजेन्सी । संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान एक व्यक्तिले आफ्नै परिवारका अधिकांश सदस्य रहेका आठ बालबालिकालाई गोली हानेर हत्या गरेका छन् ।
अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्ट शहरमा भएको गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनालाई प्रहरीले घरेलु विवादसँग सम्बन्धित बताएको छ।
प्रहरीका अनुसार ३१ वर्षीय शामार एल्किन्सले बिहानै तीन स्थानमा आक्रमण गरेका थिए । उनी घटनापछि बलपूर्वक सवारी साधन कब्जा गर्ने गरिएको गाडीमा भागेका थिए, तर प्रहरीले पछ्याउँदै जाँदा अन्ततः उनीमाथि गोली चलाएर नियन्त्रणमा लिएको थियो, जसका क्रममा उनको मृत्यु भयो । प्रहरी अधिकारी क्रिस बोर्डेलनका अनुसार सन्दिग्धले गाडीबाट बन्दुकसहित बाहिर निस्किएपछि प्रहरीलाई बल प्रयोग गर्न बाध्य बनाएको थियो ।
यस घटनामा तीनदेखि ११ वर्ष उमेर समूहका आठ बालबालिकाको ज्यान गएको क्याडो पारिश कोरोनर कार्यालयले पुष्टि गरेको छ । मृतकमध्ये तीन बालक र पाँच बालिका रहेका छन् । सात जना एकै परिवारका दाजुभाइ–दिदीबहिनी थिए भने एक जना उनीहरूको काकाका छोरा ९भाइ० थिए । प्रहरीका अनुसार मारिएका आठमध्ये सात जना बालबालिका आक्रमणकारीकै सन्तान थिए ।
घटनामा दुई महिला गम्भीर घाइते भएका छन्, जसमध्ये एक जना मारिएका केही बालबालिकाकी आमा हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू दुवैको टाउकोमा गोली लागेको छ । एक महिलाले अनुहारमा गोली लागेपछि छिमेकीलाई खबर गरिन्, जसको आधारमा बिहान ५ः०० देखि ५ः३० बजेको बीचमा आपतकालीन सेवा ९११ मार्फत प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार आक्रमणकारी दोस्रो घरमा पुगेका बेला त्यहाँ नौ बालबालिका रहेका थिए । तीमध्ये एक जना गम्भीर घाइते अवस्थामा बाँच्न सफल भएका छन् र अस्पतालमा उपचार भइरहेको छ । अनुसन्धान अधिकारीहरूले घटनाको कारण अझै स्पष्ट नभएको र तीनै स्थानबाट प्रमाण संकलन कार्य जारी रहेको बताएका छन् । प्रारम्भिक रूपमा यो घटना घरेलु विवादसँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।
श्रेभपोर्टका मेयर टम आर्सेनोले भने- 'परिवारहरू पीडामा छन्, प्रहरी र सम्बन्धित निकायका कर्मचारीहरू पनि प्रभावित छन्। यस घटनाले सम्पूर्ण समुदायलाई असर पारेको छ, हामी सबै पीडित परिवारसँगै शोकमा छौं।'
स्थानीय मेयर टम आर्सेनक्सले घटनालाई अत्यन्त पीडादायी र भयावह भन्दै बालबालिका नै निशाना बन्नु अत्यन्त दुःखद रहेको बताए । उनले समाजमा अझै पनि हिंसात्मक प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै त्यसविरुद्ध सबैले मिलेर संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।