विराटनगर । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आज कोसी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमका लागि विराटनगर जाँदैछन् ।
पार्टीकी सहमहामन्त्री डिला संग्रौलाका अनुसार पूर्वनिर्धारित तालिका अनुसार कार्यक्रम बुधबार बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।
कांग्रेसले प्रदेशस्तरमा संगठन सुदृढीकरण, निर्वाचन परिणामको गहिरो समीक्षा र आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा कोसी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला तथा क्षेत्रीय सभापतिहरूका साथै अघिल्लो निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको उल्लेख्य सहभागिता रहनेछ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा व्यहोरेपछि कांग्रेसले देशव्यापी समीक्षा अभियान अघि बढाएको हो।
यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्ता समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोसी प्रदेशमा आफ्नो ध्यान केन्द्रित गरेको छ।
पार्टी नेतृत्वले समीक्षा कार्यक्रमलाई केवल हार–जीतको विश्लेषणमा सीमित नराखी संगठन पुनर्जागरण अभियानका रूपमा अघि बढाएको जनाएको छ।
स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको वास्तविक अवस्था, चुनावी कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने लक्ष्य राखिएको छ।
साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता विस्तार, १५औँ महाधिवेशनको तयारी तथा कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत गहन छलफल हुने बताइएको छ।