काठमाडौं । सुकुम्बासी बस्तीको विवरण संकलनका लागि नेपाली सेना सक्रिय रूपमा जुटेको खुलेको छ । जिल्लास्थित विभिन्न गणमार्फत स्थानीय तहलाई पत्राचार गर्दै सुकुम्बासी बस्तीको विस्तृत विवरण माग गरिएको हो ।
तर, यस विषयमा जिल्ला प्रशासन भने अनभिज्ञ देखिएको छ, जसले सरकारी निकायबीच समन्वय अभावको प्रश्न उठाएको छ ।
बाँकेको इमाननगर ब्यारेकस्थित बज्रदल गणले बर्दियाका सबै पालिकालाई पत्र पठाउँदै सुकुम्बासी बस्तीको स्थान, बसोबास सुरु भएको मिति, घरधुरी संख्या तथा बस्तीका प्रतिनिधिको सम्पर्क विवरण उपलब्ध गराउन आग्रह गरेको थियो ।
सेनानी चोलेन्द्र कार्कीले हस्ताक्षर गरेको उक्त पत्रमा तोकिएको समयसीमाभित्र विवरण उपलब्ध गराउन भनिएको छ ।
बर्दियाको गुलरिया नगरपालिकाले भने सेनाले माग गरेअनुसारको विवरण बुझाइसकेको जनाएको छ। नगरप्रमुख मुक्तिनाथ यादवका अनुसार नगर क्षेत्रमा मात्रै करिब ५,५०० सुकुम्बासीको विवरण संकलन गरी पठाइएको छ।
सेनाले एकैपटक बर्दियाका दुई गाउँपालिका र ६ नगरपालिकालाई पत्राचार गरेको थियो। पत्रमा काठमाडौं उपत्यका भित्र नदी किनार तथा सार्वजनिक स्थलमा रहेका सुकुम्बासी बस्ती हटाउन सुरक्षाकर्मी परिचालन गरिएको हालैको घटनालाई समेत स्मरण गराइएको छ।
तर, बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भने सुकुम्बासीको विवरण संकलन गर्ने कुनै निर्णय जिल्ला प्रशासनले नगरेको स्पष्ट पारेका छन्।
'यस्तो काम सुकुम्बासी आयोगले गर्ने हो, प्रशासनले होइन,' उनले भने, 'सेनाले यस विषयमा पत्राचार गरेको जानकारी समेत हामीलाई छैन।'