काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, पाँचथर, सुनसरी, भक्तपुर, कास्की र बाराबाट उनीहरुलाई पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरीले ललितपुर, भक्तपुर र कैलालीबाट अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको छ ।
कहाँ–कहाँबाट को–को परे पक्राउ ?
बाँके : नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले कोहलपुर नगरपालिका–१० चण्डिका टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही नगरपालिका–१५ बस्ने १९ वर्षीय प्रितम कुमार थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापा : अर्जुनधारा नगरपालिका–११ चियाबगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका–४ बस्ने ३४ वर्षीय उमेश तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे १० प ९२९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
पाँचथर : फिदिम नगरपालिका–१ शनिबारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ घर भएका २३ वर्षीय अशोक गुरूङ र २३ वर्षीय राजु तामाङ रहेका छन । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी : कोशी गाउँपालिका–१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका–३ बस्ने २४ वर्षीय प्रताप राई, त्रियुगा नगरपालिका–१२ बस्ने २४ वर्षीय मोहमद इस्माइल र मोरङ कटहरी गाउँपालिका–४ बस्ने २२ वर्षीय बिबेक कुमार मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी सुनसरी, धरान उपमहानगरपालिका–११ नगरकोट बस्ने ३२ वर्षीय सन्देश लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भक्तपुर : मध्यपुर थिमी नगरपालिका–१ मनोहराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका–५ बस्ने २९ वर्षीय मोहन परियार समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्की : प्रहरीले पोखरा महानगरपालिका–२५ याम्दीबाट सोही ठाउँ बस्ने २० वर्षीय मंगल गुरूङलाई करिब १ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बारा : सिम्रौमनगढ नगरपालिका–३ भट्टीवैरीयाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही नगरपालिका(३ बस्ने १९ वर्षीय राधेश्याम पटेल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी श्रीनगर वैरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
प्रहरीले दुई दिनमै अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा २५ जनालाई पनि पक्राउ गरेको छ । उनीहरु मंगलबार र बुधबार पक्राउ परेका हुन् ।
ललितपुरको गोदावरी नगरपालिका–१० बोहोराटार बस्ने ५४ वर्षीय वंशीलाल अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा वंशीलाल समेत ८ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी भक्तपुर नगरपालिका–१ सृजनानगर बस्ने बिदुर भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय हिराकाजी निरौला समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै टीकापुर नगरपालिका–२ बिजयनगर बस्ने ४५ वर्षीय आशाराम चौधरीको घर गोठमा जुवातास खेलिरहेको अवस्थामा आशाराम समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९ सय ५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।