काठमाडौं । बलियो सरकार भएका बेला नेपाल प्रहरी कमजोर अवस्थामा पुगेको छ । कतिसम्म भने नियमित सरुवा–बढुवा समेत हुन सकेको छैन।
नेपाल प्रहरीमा एक वर्ष नाघेका कार्यालय प्रमुखको सरुवा हुन सकेको छैन । रिक्त रहेका पदमा महिनौंदेखि बढुवा रोकिएको छ। जसकारण संगठनमा निरासा छाएको छ।
यसमा प्रहरी नेतृत्वमाथि समेत प्रश्न उठ्न थालेको छ। प्रहरी नेतृत्वले माथिल्लो निकायमा राम्रोसँग समन्वय नगर्दा सरुवा बढुवा प्रभावित बनेको आरोप लागेको छ।
हाल गृहमन्त्री छैनन् । प्रधानमन्त्री बालेन शाहले नै गृह मन्त्रालय सम्हालेका छन्। तर, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधानमन्त्रीसँग समन्वय गर्न सकेका छैनन् ।
प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षकलाई छ। तर, आईजीपी कार्कीले आफ्नो अधिकार प्रयोग गर्न सकेका छैनन् ।
सरुवाका लागि प्रधानमन्त्रीका पिएहरुसँग सरसल्लाह गरिरहेका छन्। यस्तो प्रवृत्तिले प्रहरीमा पुरानै हस्तक्षेप निम्तने जोखिम देखिएको छ।
प्रधानमन्त्री शाहले प्रहरीमा कुनै हस्तक्षेप नगर्ने नीति लिएका छन्। तर, प्रहरी महानिरीक्षकले आफ्नो अधिकार प्रयोग गर्न नै डराएकाले संगठनले आफ्नो स्वायत्तता कायम गर्ने अवसर गुमाउने अवस्था बन्दै गएको छ।
यस्तो प्रवृत्तिले संगठनमा बाहिरबाट हस्तक्षेप भित्रने भन्दा प्रहरीबाटै भित्राइने गरेको प्रष्ट हुन थालेको छ। हाल इन्सपेक्टरदेखि डीआईजीसम्म सरुवाको समय भएको छ।
समयमा सरुवा नहुँदा अनावश्यक चलखेल बढ्न थालेका छन्। कतै विगतमा जस्तै माथिबाट सूची बनाएर यसपटक पनि सरुवा–बढुवा हुने त होइन भन्ने प्रश्न उठ्न थालेको छ।