एजेन्सी । तमिल सिनेमाका सुपरस्टार विजय थलापतिले तमिलनाडुको मुख्यमन्त्रीका रूपमा शपथ लिएपछि उनको परिवारमा भावुक माहोल बनेको छ ।
मे १० मा सम्पन्न भव्य समारोहमार्फत विजयले औपचारिक रूपमा आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु गरेका हुन् ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा आयोजित शपथग्रहण समारोहमा विजयका बुबा र आमा विशेष रूपमा उपस्थित थिए । छोराले राज्यको सर्वोच्च कार्यकारी पद सम्हालेपछि विजयका बुबाको आँखामा खुशीका आँसु देखिएका थिए ।
भावुक हुँदै विजयका बुबाले भने, 'अब मलाई अरू के चाहियो र ? मेरो छोराले मेरो सपना पूरा गरेको छ।'
उनले विजयको बाल्यकालको संघर्ष सम्झिँदै थपे, 'मेरो विवाह १९७३ मा भएको थियो, विजय १९७४ मा जन्मिएका थिए। त्यो बेला म सहायक निर्देशकका रूपमा काम गर्थें, कहिलेकाहीँ खानासमेत जुटाउन गाह्रो हुन्थ्यो। आज त्यही छोरा राज्यको मुख्यमन्त्री बनेको छ।'
फिल्मी करियरबाट राजनीतिमा प्रवेश गरेका विजयले आफ्नो पार्टी टिभिके मार्फत तमिलनाडुको राजनीतिमा ऐतिहासिक सफलता हासिल गरेका छन् ।