काठमाडौं । सम्पत्ति छानबिन आयोगले सर्वसाधारणलाई सार्वजनिक पदाधिकारीहरुले गैरकानूनी रुपमा सम्पत्ति कमाएको भेटिएमा उजुरी दिनआग्रह गरेको छ ।
सम्पत्ति छानबिन आयोगले विहीबार गोरखापत्रमा एक सूचना जारी गरी भ्रष्टाचार वा अरु अपराध गरेर सम्पत्ति कमाउनेहरुबारे सूचना दिन भनेको हो । आयोगले स्वतः छानबिनको सूचीमा पर्ने वा नपर्ने जो कोही सार्वजनिक पदाधिकारीहरुका बारेमा उजुरी दिन सकिने जनाएको छ ।
आयोगले सूचनामा ‘सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी र कर्मचारीहरुले अस्वभाविक रुपमा गरेको आर्जनको सूचना’ मागेको हो ।
उसले त्यस्तो आर्जन ती व्यक्तिहरुले आफू, आफ्नो परिवारका सदस्य, आफन्त वा नाता नपर्ने अरु व्यक्तिका नाममा लुकाएको हुनसक्ने औंल्याएको छ ।
आयोगले नेपालमा र विदेशमा समेत त्यस्तो सम्पत्ति राखेको सूचना, जानकारी वा प्रमाण भएमा पठाउन आग्रह गरेको छ । आयोगले सकेसम्म कार्यालय समयमा उपस्थित भएर सूचना दिन आग्रह गर्दै शंकास्पद व्यक्तिको सम्पत्ति, नम्बर र इमेल समेत उपलब्ध गराइदिन भनेको छ ।
उपस्थित हुन नसक्ने उजुरीकर्ताहरुलाई हुलाक र इमेलबाट पनि उजुरी दिने सुविधा रहेको सूचनामा उल्लेख छ । तर, उनीहरुले उजुरीमा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर खुलाउनुपर्नेछ । तर त्यसलाई गोप्य राख्ने आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक सूचनामा भनेको छ–‘सो अनुसारको उजुरी गर्ने उजुरीकर्ताको नाम, थर र वतन समेतको विवरण आयोगमा गोप्य रहने व्यहोरासमेत सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
आयोगले विहीबार मात्रै सूचना निकालेर दायरामा परेका व्यक्तिहरुलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन भनेको थियो । बहालवाला प्रधानमन्त्रीदेखि अवकाश पाएका कार्यालय प्रमुख स्तरका उपसचिवहरु समेतले सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।
को–कसले बुझाउनुपर्नेछ सम्पत्ति विवरण ?
आयोगले सार्वजनिक गरेको सूचना अनुसार, बहालवाला प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मले एक महिनाभित्र आयोगमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ । हरेक वर्ष नियमित रुपमा सम्पत्ति विवरण बुझाउनेले पनि आयोगमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।
आयोगले शुरुमा २०६२ सालयताका सार्वजनिक पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन भनेको छ ।