Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसपी–डीएसपीलाई आईजीपीको निर्देशन - परम्परागत पुलिसिङको शैली त्याग्नु, नवीन सोचका साथ काम गर्नू

एसपी–डीएसपीलाई आईजीपीको निर्देशन - परम्परागत पुलिसिङको शैली त्याग्नु, नवीन सोचका साथ काम गर्नू

सोमवार , जेठ ४, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले परम्परागत पुलिसिङको शैली त्याग्दै नवीन सोच, प्रविधिमैत्री सेवा र नागरिकमैत्री व्यवहारमार्फत प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

हालै सरुवा भई नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिकको अपेक्षालाई केन्द्रमा राखेर उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले प्रहरी संगठनलाई थप व्यावसायिक, अनुशासित, निष्ठावान र इमानदार बनाउन सबै प्रहरी कर्मचारीले आफ्नो व्यवहार, बोलीचाली र कार्यशैली सुधार्नुपर्ने बताए ।

व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई प्राथमिकतामा राख्दै पूर्वाग्रह र विभेदरहित ढंगले कानुनसम्मत काम गर्न उनले निर्देशन दिए।

आईजीपी कार्कीले सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायप्रति थप संवेदनशील हुन आग्रह गरे।

विपद् तथा दुःख–पीडामा प्रहरी कार्यालय पुग्ने सेवाग्राहीको समस्या तत्काल सम्बोधन गर्नुपर्नेमा समेत उनले विशेष जोड दिए।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने उल्लेख गर्दै उनले गुनासो तथा उजुरी व्यवस्थापनका लागि क्यूआर कोड प्रयोग, एसएमएसमार्फत प्रगतिबारे जानकारी दिने प्रणाली विकास गर्न निर्देशन दिए।

हिरासत कक्ष व्यवस्थित बनाउन, प्रमाणमुखी तथा वस्तुनिष्ठ अनुसन्धानलाई प्राथमिकता दिन, सीमा अपराध र तस्करी नियन्त्रण गर्न तथा फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउन पनि उनले मातहतका अधिकृतहरूलाई निर्देशन दिएका छन्।

दुर्घटना न्यूनीकरण, अपराध रोकथाम र विपद् व्यवस्थापनमा प्रहरी सदैव तयारी अवस्थामा रहनुपर्ने उल्लेख गर्दै आईजीपी कार्कीले पूर्वअभ्याससहित तत्काल परिचालन हुन सक्ने क्षमताको विकास गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल प्रहरीका उच्च अधिकृतहरू राजन अधिकारी, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर विक तथा सानुराम भट्टराई ले समेत सरुवा भएका प्रहरी अधिकृतहरूलाई समसामयिक सुरक्षा चुनौती र भावी कार्यदिशाबारे निर्देशन दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077