'जिल्ला प्रशासन कार्यालय, पर्साबाट स्वीकृति लिएर मन्दिर दर्शन र शान्तिपूर्ण कार्यक्रमका लागि जाँदा मलाई प्रहरीले पक्राउ गर्यो'
काठमाडौं । यही जेठ ४ गते पर्साको वीरगञ्जबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जिल्ला प्रशासन कार्यालयले आफूलाई थुन्न स्वीकृतिको पासो थापेको दाबी गरेका छन् ।
हाल प्रहरी हिरासतमा रहेका प्रसाईँले हिरासतबाटै राज्यका नाममा खुला पत्र जारी गर्दै लिखित रूपमा स्वीकृति लिएर मन्दिर दर्शन र शान्तिपूर्ण कार्यक्रमका लागि स्वीकृति लिएर जाँदा आफूलाई बिना कारण पक्राउ गरेको दाबी गरेका हुन् ।
आफूलाई पक्राउ गर्ने नै भए किन प्रशासनले अनुमति दियो ? भन्दै प्रश्न अघि सारेका छन् ।
अनुमति पत्र कि पक्राउ गर्ने पासो ? कठघरामा संघीय लोकतान्त्रिक गणतन्त्र ! के यो देशमा कानुनको राज मरेकै हो ? हेर्नुहोस् यो आधिकारिक पत्र ! जिल्ला प्रशासन कार्यालय, पर्साबाट विधिवत् रूपमा प्रक्रिया पुर्याएर, लिखित रूपमा स्वीकृति लिएर मन्दिर दर्शन र शान्तिपूर्ण कार्यक्रमका लागि जाँदा मलाई प्रहरीले पक्राउ गर्यो। म यो लाचार र दोषी राज्य सत्तालाई सीधा प्रश्न गर्न चाहन्छु: दोष मेरो हो कि राज्यको ? यदि पक्राउ नै गर्नु थियो भने, जिल्ला प्रशासन कार्यालयले यो स्वीकृतिको नाटक किन रच्यो ? के यो प्रशासनले नागरिकलाई फसाउन थापेको वैधानिक पासो हो ? लाखौँ नेपालीको रगत र पसिनाबाट आएको भनिएको यो गणतन्त्र मा एउटा नागरिकले अनुमति लिएर पनि आफ्नो आस्था प्रकट गर्न नपाउने, बोल्न नपाउने ? यदि अनुमति पत्र खल्तीमा बोकेर हिँड्दा पनि अपराधी झैँ समातिनुपर्छ भने, सम्झिनुस् देश कुन भयानक र अराजक दिशातिर जाँदैछ।
उनले अनुमति पत्र खल्तीमा बोकेर हिँड्दा पनि अपराधी झैँ समातेको भन्दै असन्तुष्टि जनाए ।
'सत्ताको आडमा मलाई हिरासतमा राख्नेहरूले के ठानेका छन्रु म एक्लो छु ? म माता पाथीभराको भक्त हुँ। ममाथि भएको यो अन्याय माताले हेरिरहनुभएको छ। हेक्का रहोस्, माताको शक्ति प्रकट हुने दिन तिमीहरूको पतनको दिन हुनेछ। दिन सबैको आउँछ, तिमीहरूको पनि छिट्टै आउनेछ,' उनले थप लेखेका छन् ।
राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक समेत रहेका प्रसाईँ सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका थिए ।
वीरगञ्जका सार्वजनिक तथा अतिक्रमित सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी अभियानको विरोध गर्दै सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको उजुरीका आधारमा प्रसाईँलाई पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गर्न प्रसाईंलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराएर पहिलो तीन दिन र दोस्रो पटकमा चार दिन गरी म्याद लिएको छ ।
सरकारविरुद्ध आक्रात्मक अभिव्यक्ति दिने र सामाजिक सद्भावमा असर पर्ने गतिविधि गर्दै आएका प्रसाईं यसअघि पनि पक्राउ पर्दै छुट्दै आएका छन् ।