एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुवियोले अमेरिका–इरान तनाव समाधानतर्फ महत्वपूर्ण प्रगति भएको संकेत दिएका छन्। भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रुवियोले आगामी केही घण्टाभित्रै विश्वले “राम्रो समाचार” सुन्न सक्ने बताएका हुन्।
राजधानी नयाँदिल्लीमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानसँगको सम्भावित सम्झौताको घोषणा आजै हुन सक्ने संकेत गरे। “मलाई लाग्छ, सम्भवतः आगामी केही घण्टाभित्रै विश्वले राम्रो समाचार पाउनेछ,” रुवियोले भने।
उनका अनुसार प्रस्तावित सम्झौतामा होर्मुज जलडमरूमध्य सम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का मुख्य चिन्ताहरूलाई सम्बोधन गरिनेछ।
गत फेब्रुअरीमा अमेरिका र इजरायलबाट भएको आक्रमणपछि इरानले होर्मुज जलमार्गलाई लगभग बन्दसरह बनाएको थियो। विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा इन्धन यही रणनीतिक समुद्री मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा समेत परेको छ।
रुवियोले सम्भावित सम्झौताले नयाँ कूटनीतिक प्रक्रिया सुरु गर्ने र राष्ट्रपति ट्रम्पले चाहेको दिशातर्फ परिस्थितिलाई अघि बढाउने विश्वास व्यक्त गरे। यसअघि ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जालमार्फत होर्मुज स्ट्रेट खुला गर्ने विषय समेटिएको प्रस्तावमा “मोटामोटी सहमति” बनेको दाबी गरेका थिए।
तर इरान ले भने अमेरिकी दाबीप्रति सतर्क प्रतिक्रिया दिएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले सम्झौतामा लगभग सहमति भइसकेको भन्ने ट्रम्पको भनाइलाई “अपूर्ण र यथार्थसँग मेल नखाने” बताएका छन्।
इरानका विदेश मन्त्रालयका प्रवक्ताले प्रस्तावलाई ‘फ्रेमवर्क एग्रिमेन्ट’को संज्ञा दिँदै अन्तिम सम्झौतामा पुग्न अझै ३० देखि ६० दिनसम्म छलफल आवश्यक पर्ने बताएका छन्। इरानले होर्मुज जलमार्गमाथि आफ्नो नियन्त्रण कायम रहने अडानसमेत दोहोर्याएको छ।
यता बेन्जामिन नेतन्याहू भने सम्भावित सम्झौताप्रति सन्तुष्ट नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायली सञ्चारमाध्यमका अनुसार नेतन्याहूले इरानको आणविक कार्यक्रमसम्बन्धी निर्णय ६० दिनका लागि स्थगित गर्ने विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। उक्त अवधिमा इरानमाथि सैन्य आक्रमण गर्न नपाइने प्रावधानप्रति पनि उनले आपत्ति जनाएको बताइएको छ।