एजेन्सी । मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ।
अमेरिकाले स्ट्रेट अफ होर्मुज हुँदै इरानी बन्दरगाहतर्फ गइरहेको एक तेल ट्यांकरलाई हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दाबी गरेको छ भने इरानविरुद्ध अर्को चरणको हवाई आक्रमण पनि सुरु गरिएको जनाएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार क्युश्म टापु, बन्दर अब्बास र चाबाहार क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन्। त्यससँगै राजधानी तेहरानसहित विभिन्न स्थानमा हवाई रक्षा प्रणाली सक्रिय पारिएको छ।
मेहर न्यूज एजेन्सीका अनुसार सम्भावित अमेरिकी हवाई आक्रमणको जोखिमलाई मध्यनजर गर्दै तेहरानमा हवाई सुरक्षा प्रणाली उच्च सतर्कतामा राखिएको छ।
यता, इरानले पनि खाडी क्षेत्रमा प्रतिशोधात्मक आक्रमण सुरु गरेको दाबी गरिएको छ। त्यसको प्रभावस्वरूप बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको छ भने कुवेतले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरूलाई आफ्नो हवाई रक्षा प्रणालीले बीचैमा निष्क्रिय पारेको जनाएको छ।
इरानको अर्ध–सरकारी फर्स न्यूज एजेन्सीका अनुसार पश्चिमी सहर खोरमाबादमा कम्तीमा दुईवटा ठूला विस्फोटको आवाज सुनिएको छ। खोरमाबाद राजधानी तेहरानबाट करिब ४९० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्ट्रकम)ले जारी गरेको विज्ञप्तिमा इरानविरुद्ध सुरु गरिएका सैन्य कारबाही हर्मुज जलमार्ग हुँदै हुने अन्तर्राष्ट्रिय जहाज आवागमनलाई धम्की दिन सक्ने इरानी सैन्य क्षमतामाथि केन्द्रित रहेको उल्लेख गरिएको छ।