एजेन्सी । इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जको निर्देशनमा भएको अपरेसनमा ओदेहको मृत्यु भएको इजरायली प्रधानमन्त्री कार्यालय ९पीएमओ० ले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।
'प्रधानमन्त्री र मेरो व्यक्तिगत तर्फबाट यो उत्कृष्ट कारबाहीका लागि इजरायली रक्षा बल ९आईडीएफ० र सिन बेटलाई बधाई छ । हामीले अक्टोबर ७ को नरसंहारको नेतृत्व गर्ने सबैलाई समाप्त गर्ने प्रतिबद्धता जनाएका थियौं र हामी त्यही गर्नेछौंः तिनीहरू जहाँ भए पनि मृत्युका लागि चिन्हित छन्,' काट्जले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
अक्टोबर –७ को नरसंहारको मुख्य योजनाकार समेत रहेका ओदेहले नरसंहारको समयमा हमासको गुप्तचर स्टाफको प्रमुखको रूपमा सेवा गरेका थिए ।
ओदेहलाई दुई साताअघि मात्र सैन्य प्रमुखको रुपमा नियुक्त गरिएको जनाइएको छ ।
ओदेह धेरै इजरायली नागरिक र आईडीएफ सैनिकहरूको हत्या, अपहरण र घाइतेको घटनाको लागि पनि जिम्मेवार रहेको जनाइएको छ ।
यसअघि यसै महिना उनीभन्दा अगाडिका प्रमुखलाई पनि इजरायलले यस्तै आक्रमणमा मारेको थियो ।
२०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा परी १२ सय २१ जना इजरायली नागरिकको मृत्यु भएको थियो । त्यसपछि इजरायली प्रधानमन्त्री नेतन्याहूले यसका पछाडि रहेका नेताहरूलाई लक्षित गर्ने र समाप्त गर्ने वाचा गरेका थिए ।
इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ७२ हजार ८ सय ३ जनाको ज्यान गएको थियो ।
इजरायलले यसअघि हमासका अक्टोबर ७ को आक्रमणको मुख्य योजनाकार एवम पूर्व राजनीतिक प्रमुख इस्माइल हानिया र गाजा प्रमुख याह्या सिनवारलाई मारिसकेको छ ।
यसका साथै इजरायलले हमासको सैन्य शाखा एजेदिन अल–कसाम ब्रिगेडका लामो समयदेखिका कमान्डर मोहम्मद दाइफ र आफ्ना दाजु याह्या सिनवारको उत्तराधिकारी बनेका गाजा प्रमुख मोहम्मद सिनवारलाई पनि मारिसकेको छ ।
साथै बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल एक्समा सन् २०२३ अक्टोबर–७ को नरसंहारमा संलग्न सबैलाई हटाउने प्रतिवद्धता जनाएका छन् ।