Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसियन गेम्स छनोट: चीनलाई १९ रनले हराउँदै नेपालको विजयी सुरुवात

एसियन गेम्स छनोट: चीनलाई १९ रनले हराउँदै नेपालको विजयी सुरुवात

बुधवार , जेठ १३, २०८३

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले जितबाट मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटको सुरुवात गरेको छ।

बुधबार मलेसियाको बायोमास ओभलमा भएको खेलमा नेपालले चीनलाई १९ रनले हराउँदै जितबाट छनोटको यात्रा अघि बढाएको हो। १ सय २६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन मात्र बनाउन सक्यो ।

बायोमास ओभलमा त्यसअघि उपकप्तान पूजा महतोले सानदार अर्धशतक बनाएपछि पहिला ब्याटिङ गरेको नेपालले ५ विकेटको नोक्सानीमा १ सय २५ रन बनाएको छ। पूजाको ब्याटिङ नै जितको आधार बन्यो ।

अर्की ओपनर सम्झना ४ रन आउट भएपछि पूजाले रनआउट हुनुअघि ६३ रन बनाइन् ।

५७ बल खेलेकी पूजाले ६ चौका प्रहार गरिन्। रुबि पोदारले नटआउट २२ र सोनी पाख्रिनले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  चीनकी मा रुकीले २ विकेट लिइन् ।

नेपालविरुद्ध चीनका लागि झु मिङगिउले सर्वाधिक ३०, वाङ हुइङले २१, ओपनर वि हाइटिङले १८, हो जेपिङले १५ रन बनाइन् । नेपालका लागि रिया शर्माले २, मनिषा उपाध्याय, कविता कुँवर, पूजाले समान १ विकेट लिए।

झण्डै ८७ महिनापछि नेपाल र चीन आमनेसामने भएका हुन् । पछिल्लो भेट सन् २०१९ फेब्रुअरीमा भएको थियो, जहाँ दुवै टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।

इतिहास हेर्दा नेपालले चीनमाथि अहिलेसम्म पूर्ण दबदबा कायम राखेको छ । टी–२० अन्तर्राष्ट्रियमा भएका दुई भेटमा नेपालले दुवै खेल जितेको छ। पहिलो भेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ५ रनको रोमाञ्चक जित दर्ता गरेको थियो।

जारी छनोटमा चीनले मंगलबार सम्पन्न पहिलो खेलमा इन्डोनेसियाविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको थियो । 

नेपालले समूह बीमा अर्को खेल भोलि इन्डोनेसियासँग खेल्नेछ । ६ टोलीको सहभागितामा आइतबारसम्म चल्ने प्रतियोगिताका शीर्ष ३ टोलीले यसै वर्ष जापानमा हुने २० एसियाली खेलकुदमा भाग लिनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077