काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले महिला उद्यमीहरूको क्षमता विकास, व्यवसाय विस्तार र उत्पादनको बजारीकरणमा सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले महिला उद्यमीले भोगिरहेका समस्या समाधान गर्दै उत्पादनलाई बजारसँग जोड्ने वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण, व्यापार मेला, बीटुबी कार्यक्रम, निर्यात प्रवर्द्धन तथा सार्वजनिक खरिदमा महिला उद्यमीलाई प्राथमिकता दिन माग गरेका थिए। साथै, ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सरकारको सहयोग आवश्यक रहेको धारणा राखेका थिए।
प्रधानमन्त्री शाहले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै महिला उद्यमीका उत्पादनलाई प्रमुख पर्यटकीय क्षेत्रसम्म प्रवर्द्धन गर्ने व्यवस्था मिलाइने उनको भनाइ थियो।
महासंघले पनि महिला उद्यमीका समस्या समाधानमा सरकारले देखाएको चासोप्रति धन्यवाद व्यक्त गरेको छ।
छलफलमा महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी थिए ।
पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विकास निर्माणको क्षेत्रमा देखिएका समस्या, समाधान, सरकारले गर्नुपर्ने सहजीकरणलगायतका विषयमा विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग निरन्तर संवादलाई तीव्रता दिएका छन्।
यसअघि बुधबार प्रधानमन्त्री शाहले होटल एसोसिएसन नेपाल (हान)का पदाधिकारीहरूसँग पनि छलफल गरेका थिए ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका थिए ।
त्यसअघि प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रका उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र उद्योगी तथा व्यवसायी पनि छलफल गरेका थिए ।