काठमाडौं । विश्वकप फुटबल २०२६ को उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच हुने फाइनल खेल नेपाली दर्शकले निःशुल्क हेर्न सक्ने भएका छन्।
हिमालय टेलिभिजनले दर्शकको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले फाइनल खेल खुला प्रसारण (फ्री–टु–एयर) गर्ने निर्णय गरेको हो।
टेलिभिजनका अनुसार फाइनल खेल हिमालय टेलिभिजनका साथै हिमालय स्पोर्ट्स र डिगो मोबाइल एपमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। यसअघि हिमालय स्पोर्ट्स तथा डिगो एपको सदस्यता नलिएका प्रयोगकर्ताले पनि फाइनल खेल कुनै अतिरिक्त शुल्क नतिरी प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
विश्वकपका अधिकांश खेलहरू सदस्यतामार्फत उपलब्ध गराइए पनि प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण खेललाई भने सबै दर्शकको पहुँचमा पुर्याउने उद्देश्यले निःशुल्क प्रसारणको व्यवस्था गरिएको हिमालय टेलिभिजनले जनाएको छ। यस निर्णयबाट सदस्यता नलिएका हजारौं फुटबल समर्थकले पनि विश्वकपको उपाधि भिडन्त सहज रूपमा हेर्न सक्ने अपेक्षा गरिएको छ।
नेपाली समयअनुसार आइतबार राति १२ बजेर ४५ मिनेटमा हुने फाइनल खेलमा साविक विजेता अर्जेन्टिना र युरोपेली शक्ति स्पेन आमनेसामने हुँदैछन्। विश्व फुटबलको प्रतिष्ठित उपाधिका लागि हुने यस प्रतिस्पर्धाप्रति विश्वभरका फुटबल समर्थकको विशेष चासो रहेको छ।
हिमालय टेलिभिजनले फाइनल खेलको प्रत्यक्ष प्रसारण उच्च गुणस्तरसहित उपलब्ध गराइने जनाएको छ। टेलिभिजन, मोबाइल तथा डिजिटल प्लेटफर्ममार्फत खेल हेर्न सकिने भएकाले देशभित्रका साथै विदेशमा रहेका नेपाली दर्शकले पनि सहज रूपमा उपाधि भिडन्तको रोमाञ्च लिन सक्ने विश्वास गरिएको छ।
फाइनल खेललाई लक्षित गरी गरिएको यो विशेष व्यवस्थाले प्रतियोगिताको अन्तिम र निर्णायक क्षण सबै दर्शकमाझ पुर्याउने तथा नेपाली फुटबल समर्थकलाई विश्वकपको उत्साहसँग प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ।