Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

एम्बुलेन्स आफूखुसी भाडामा लगाएर पैसा असुली, ११ लाख बिगोसहित पूर्व वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

एम्बुलेन्स आफूखुसी भाडामा लगाएर पैसा असुली, ११ लाख बिगोसहित पूर्व वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको एम्बुलेन्सलाई तीन वर्ष पाँच महिनासम्म व्यक्तिगत नियन्त्रणमा राखी निजी सम्पत्तिसरह सञ्चालन गर्दै आफूखुसी भाडा असुलेको आरोपमा यादवविरुद्ध मुद्दा दायर गरिएको हो।

अनुसन्धानबाट भारतीय राजदूतावाससँग २०७७ असोज १४ गते भएको सम्झौताअनुसार वडावासीलाई सेवा दिने उद्देश्यले निःशुल्क प्राप्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी अभिलेखमा दाखिला नगरी व्यक्तिगत नियन्त्रणमा राखेर सञ्चालन गरिएको पाइएको आयोगले जनाएको छ। साथै, एम्बुलेन्स सेवाबाट प्राप्त आम्दानी स्थानीय तहको कोषमा दाखिला नगरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।

आयोगका अनुसार एम्बुलेन्स सञ्चालनसम्बन्धी लगबुक, निःशुल्क तथा शुल्क लिई प्रदान गरिएका सेवाको विवरण, इन्धन खर्चलगायतका अभिलेखसमेत नराखिएको पाइएको छ। एम्बुलेन्सबाट भएको आम्दानी तथा खर्चको विवरण नगरपालिकामा समेत पेश नगरिएको आयोगको दाबी छ।

अनुसन्धानका क्रममा उक्त एम्बुलेन्स सार्वजनिक सम्पत्ति भएको जानकारी हुँदाहुँदै पनि व्यक्तिगत सवारीसाधनसरह प्रयोग गरी सेवा शुल्क उठाइएको र तीन वर्ष पाँच महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर सञ्चालन गरिएको खुलेको आयोगले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी धनुषाले २०७८ जेठ ४ गते सार्वजनिक गरेको एम्बुलेन्स सेवाको जिल्ला दररेटका आधारमा उक्त सेवाबाट १५ लाख ९ हजार २५० रुपैयाँ आम्दानी हुनुपर्ने आयोगको निष्कर्ष छ।

अनुसन्धानका क्रममा यादवले कारबाहीबाट उन्मुक्ति पाउने उद्देश्यले एम्बुलेन्स सेवाबाट प्राप्त आम्दानी र त्यसको ब्याजबापत ३ लाख ८१ हजार ५९७ रुपैयाँ दाखिला गरेको आयोगले जनाएको छ। उक्त रकम कटाएर ११ लाख २७ हजार ६५३ रुपैयाँ बिगो कायम गरिएको छ।

आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर कायम गरी बिगो असुल, सोहीबमोजिम जरिवाना तथा कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077