Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देउवाले रोपेको विरुवा आफ्नै मेयरले उखेलेपछि…

    देउवाले रोपेको विरुवा आफ्नै मेयरले उखेलेपछि…

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    धरान । गत उपनिर्वाचनमा विजयी भएदेखि सधैं विवादको घेरामा परिरहने धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई फेरि आफ्नै नेता शेरबहादुर देउवाले रोपेको रुख उखेलेर विवादमा परेका छन् ।

    पछिल्लोपटक उनले कोशी राजमार्गमा बनाउनुपर्ने एउटा सार्वजनिक शौचालय धरानवासीले खानेपानीको मुहान सर्दु खोलामा बनाएपछि अहिले स्थानीयहरु विरोधमा उत्रिएका छन् ।



    उनीहरुले गत बुधवार फुश्रेस्थित विपी पार्कमा भेला भएर मेयरले मनपरी गर्न थालेको भन्दै विरोध जनाएका छन् । सो शौचालय निर्माणस्थलमा भएको ४ थान रुखहरु स्काभेटरले उखेलिदिँदा मेयरप्रति उनकै पार्टी नेपाली कांग्रेसका कार्यकर्ताहरु पनि रुष्ट हुन पुगेका छन् ।



    किनभने, सो स्थानमा रहेको दुईवटा सिरिषको रुख गत २०७१ साल भाद्र २ गते विपी पार्कको शिलान्यास गर्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको हातबाट रोपिएको थियो ।

    धरान २० स्थित ओशो आश्रमको परिसरभित्र रोपिएका ती रुखहरुलाई आश्रमले नै हुर्काइबढाइ ठूलो बनाइसकेका थिए । तर, गत हप्ता नगरप्रमुख राईले दुईवटा मलेसियन सालको रुखहरु काट्न लगाएका छन् ।

    यसअघि पनि नगरप्रमुख राई बिनाइजाजत धरान २० स्थित विष्णुपादुका सामुदायिक वनभित्र रहेको एक थान सखुवाको रुख कटानमा संलग्न रहेको घटनामा तानिएका थिए । जुन मुद्दामा नेपाली कांग्रेसका कार्यकर्ताहरु जेलसमेत परेका थिए भने, सो मुद्दा अझै चलिरहेको छ ।

    पानीको मुहानमा शौचालय
    धरानको उपनिर्वाचनअघि तत्कालीन कावा प्रमुख मन्जु भण्डारीले खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ विकास कोषमा धरानमा तीनवटा सार्वजनिक शौचालयको माग गर्दै पत्राचार गरेकी थिइन् ।

    त्यसमध्ये दुईवटाका लागि बजेट पनि विनियोजन भयो । त्यसमध्ये एउटा धरान–१२ स्थित पब्लिक हाइस्कुलमा र एउटा कोशी राजमार्ग पनि पर्ने धरान–१३ मा निर्माण गर्ने निर्णय भई ठेक्का पनि लगाइयो ।

    धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले भन्छन्, ‘धरानबाट भेडेटार र पहाडी जिल्लामा जाने यात्रुहरुले बाटामा दिसापिसाब गर्दा हाल सर्दु जलाधार क्षेत्रको पानीको मुहान प्रदूषित भइरहेको छ भनेर शिवधारामा सो शौचालय बनाउने भन्ने उद्देश्य थियो । तर मेयरसा’बले आफ्नो मनखुसी सो सार्वजनिक शौचालयलाई धरान–२० स्थित पानीको मुहानभित्रै बनाउन लाग्नु भएर हामी छक्क परेका छौँ ।’

    जुन उद्देश्यका लागि जुन स्थानमा बनाउनु भनी आएको योजना सोही स्थलमा बन्नुपर्छ भनेर स्थानीय बासिन्दाहरुले माग राख्दै विरोध जनाए पनि नगरप्रमुख राईले भने सर्दुखोलाको विपी पार्क नजिकै रुख काट्न लगाई निर्माण गर्न थालेका छन् ।

    ‘हामीलाई त मेयरसा’बले यही स्थानमा बनाउनु भन्नुभयो हामीले स्काभेटर लगाएर उखेलेको हो ।’ भन्छन् ठेकेदार तेजनारायण शाह ।

    हाल सर्दु जलाधार क्षेत्रभित्रै नेपाली कांग्रेसले विपी पार्क बनाउन करोडौं सरकारी बजेट खर्च गरिसकेको छ । सोही पार्कमा आउने पर्यटकहरुका लागि सो शौचालय बनाउने मेयर राईको कोसिस हो ।

    तर, पार्कस्थलको लागि शौचालय बनाउनु नै पर्दा पनि कम प्रदूषण हुने, बोट विरुवा नै क्षति गर्न नपर्ने थुप्रै वैकल्पिक ठाउँहरु थिए । तर मेयरले हुर्किसकेको रुखहरु नै काटेर मुहानदेखि १० मिटर नजिकै शौचालय बनाउनु दुर्भाग्य हो भन्छन् स्थानीय बुद्धिजीवी डा राजेन्द्र शर्मा ।

    भरसक जलाधार क्षेत्रमा सबै मानवीय गतिविधि बन्द गर्नुपर्छ । कुनै पार्क बनाउने कामै गलत छ । त्यसमाथि शौचालयजस्तो कुरा बनाउदा धेरै सोच्नुपथ्र्यो । सो शौचालय बनाइने स्थानदेखि पानीको इनटेक सय मिटर तल पर्दछ ।

    जलाधार क्षेत्रमा विपी पार्क बनाइएपछि घुम्न जाने टिकटक बनाउन जाने युवाहरुको भिड त बढ्यो, तर सो पार्कलाई व्यवस्थित गर्न मेयरले एउटा व्यवस्थापन समितिसमेत गठन गर्न सकेका छैनन् ।

    जलाधार क्षेत्रमा कुनै गुरुयोजना बिना नै बनाइएको सो पार्कका कारण हाल मुहान क्षेत्रका ज्यादै फोहरमैला बढ्न गएको कुरा हालै धरानका एक युवा समूहले ११ दिन लगाएर चार गाडी फोहर संकलन गरेबाट थाहा हुन आएको स्थानीयवासी बताउँछन् ।

    मेयरको पत्रकार सम्मेलन
    आफ्नै पार्टीका नेताहरुले वृक्षरोपण गरेको रुखहरु काट्न लगाई पानीको मुहानमा शौचालय बनाउन थालेपछि स्थानीय जनताले विरोध गरेको कुरा स्थानीय एक राष्ट्रिय दैनिकमा छापिएपछि नगरप्रमुख राईले दुई पटक पत्रकार सम्मेलन गरी आफूलाई रुख काटेको थाहा नभएको बताएका छन् ।

    उनले विपी पार्कमा पर्यटकहरुको घुइँचो बढ्न थालेकाले सो क्षेत्रमा शौचालय बनाउन परेको स्पष्टीकरण दिएका थिए । आफूले राम्रो काम गर्दागर्दै पनि केही मानिसहरुले राजनीतिकरूपमा विरोध गरेको समेत भन्न भ्याएका थिए ।

    तर, रुख काटेको विषयमा अब नागरिक समाज, वन तथा जिल्ला कार्यालयहरुले पनि छानबिन गर्न थालेपछि नगरप्रमुखलाई अप्ठ्यारो स्थितिको सामना गर्न परिरहेको छ ।

    उनले शौचालय नबनाउन ओशो आश्रम र केही राजनीतिक पार्टीका मान्छे लागेको भनाइप्रति असहमति जनाउँदै ओशो आश्रम धरानले प्रेस विज्ञप्ति र धरान वडा नं २० र १३ ले पत्र नै लेखेर विरोध जनाएको छ ।

    १५ वर्ष तत्कालीन नगरप्रमुख मनोज मेयाङवोले पनि सर्दु खोलाको सिरान भेडेटारको घुम्तीमा सार्वजनिक शौचालय बनाएका थिए ।

    तर, त्यसले मुहानलाई ठूलो प्रदूषण गर्न थालेपछि हाल सो शौचालयलाई बन्द गराएर धनकुटा क्षेत्रमा नयाँ निर्माण गरिएको छ । जलाधार क्षेत्रभित्र शौचालय निर्माण गर्नुअघि वातावरण प्रभाव मूल्यांकन हुनुपर्नेमा जनप्रतिनिधिहरुले राजनीति गर्न जथाभावी योजना लगिदिने हुँदा देशका सबै जलाधार क्षेत्रहरु जोखिममा परेको कुरा जलाधार विज्ञ मनकुमार राई बताउँछन् । दृष्टि साप्ताहिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार