Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यो महामारीमा कता छ सरकार ?

    यो महामारीमा कता छ सरकार ?

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 4.4K
    SHARES

    सत्ता परिवर्तन हुन्छन्, कुर्सी परिवर्तन हुन्छन्, नेता परिवर्तन हुन्छन्, मन्त्री परिवर्तन हुन्छन्, तर त्यहाँ भएको परिवर्तनले आम जनताको जीवनमा कुनै परिवर्तन हुँदैन। परिवर्तन हुन्छ त केबल उनीहरुकै परिवारमा उनीहरूको जीवनमा र उनीहरूको आफ्ना आफन्तको जीवनमा । नेता पायौं, मन्त्री पायौं ,प्रधानमन्त्री पायौं, तर, जनताको दुःख बुझ्ने सच्चा नेता वा मन्त्री वा प्रधानमन्त्री अभैm पाउन सकेका छैनौं । हालका मन्त्रिहरु त श्री ५ को सरकारको जस्तै ब्यबहार गर्दै छन् न त त्यसले उनीहरुलाई फाईदा हुन्छ न त जनतालाई नै ।

    कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले देश आक्रान्त बनेको छ । अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएको छ । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयले हस्पिटलमा उपचार नै गर्न सकिदैन भनेर आफ्नो बिज्ञप्ति निकालेको छ । जब देशको सरकार भ्रष्टाचारमा लिप्त भएर कुनै पनि हालतमा सरकारलाई टिकाउनमा ब्यस्त हुन्छ, तब उसलाई कुनै मतलब हुँदैन भन्ने अहिले भएका घटनाक्रमले प्रष्ट पार्दछ । कोरोनाको यो महामारीमा केन्द्रदेखि प्रदेशसम्म सत्ता जोगाउन साम, दाम, दण्ड भेद प्रयोग भएका छन् भने सांसदहरु नै कारबाहीको भागिदार बनिरहेका छन् ।



    यस्तो बेला पनि जनताको स्वस्थ्यमाथि संवेदनशील नहुने सरकार कसरी जनताको सरकार हुन सक्छ ? रातारात आफ्नो सरकार कसरि बचाउने र त्यसको लागि जुनै पनि हदसम्म गिर्न पछी नपर्नेहरु यतिबेला देशको कार्यकारी पदमा आशिन छन् । यो देशमा अस्पताल बनाउन पैसा छैन रे । यतिबेला सुन्धाराको धरहरा, पशुपतीनाथको जलहरी आवश्यक हो कि अस्पतालका शैया र अक्सिजन प्लान्ट ? प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अगाडि मात्रै १६५ शिल्यान्नस गर्नुभयो रे । तर, ती १६५ मा न कतै अस्पताल परे न त अक्सिजन उत्पादन गर्ने प्लान्ट नै ।



    इच्छाशक्ति हुने हो भने १० दिनको अस्पताल बन्छ भन्ने उदाहरण रुकुम पश्चिम छ । त्यहाँको जनप्रतिनिधि जनार्दन शर्मा ‘प्रभाकर’ शक्रियताबाट केहि सिक्ने कि ? यस्तो महामारीमा पनि प्रधानमन्त्री र उनका मन्त्रीहरु केवल उत्घाटन र शिलान्यासमा ब्यस्त हुनु राम्रो पक्ष हो । यसले विकास निर्माणका काम रोकिएका छैनन् भन्ने देखाउँछ । तर, यतिबेला ती विकास निर्माणले कुनै अर्थ राख्दैनन् । सबैभन्दा ठूलो करा स्वास्थ्य हो । स्वास्थ्य नै छैन भने विकास निर्माण के काम ?

    यो महामारीमा स्कुल बन्द छ फिस चालु छ, ब्यबसाय बन्दछ ब्याज चालु छ, देश नै बन्द छ कर चालू छ । मानिसहरु भोक भोकै छन्, कतिको जागिर गुमेको छ । अब यस्तै हो भने रोगले भन्दा पनि भोकको शोकले मान्छेहरुको लास देख्ने दिन टाढा छैन । बिश्वमा कोरोना भयंकर बिपत्ति बनेर आइ रहेको छ। छिमेकी देश भारतको हालत हामीले देखेको र सुनेकै छौं । पुरै तागत लगाएर यति बेला बिश्व कोरोनासँग जुधी रहेको छ, सायद एउटा मात्रै देश छ जहाँ सरकार र शासकलाई कोरोना सामान्य लागिरहेको छ । कोरोना भन्दा भयंकर तनाब त यति बेला सत्ता र राजनीति बनेको छ। त्यो हाम्रै देश नेपाल हो ।

    कहिले बेसार पानी खाऊ, कहिले अम्बाको पात खाऊ, कहिले कोरोना भनेको सामान्य रुघाखोकी हो यसो हाछ्युँ गरेर उडाइदिनुपर्छ भन्ने शाशक भएर आज यो अवस्था आएको हो। आफू आलिशान निवासमा बस्ने अनि जनतालाई यो गर त्यो गर भन्ने ? यसरी शाशकले कोरोनालाई हल्का रुपमा लिएर जनतालाई गलत सूचना प्रवाह गर्दाको परिणाम हो यो । यस्तै क्रियाकलापले गर्दा सरकारमा भएका व्यक्तिहरु शासक हैन जनताको सेवक हुन भन्ने कुरा बिर्सेको प्रष्ट भइसकेको छ ।

    कोरोनाको प्रकोप दिनदिनै बढिरहेकै छ । राजधानीमै एउटा पनि आईसीयू बेड खाली छैनन् । अस्पतालमा आम जनताको रुवावास छ । तर, यो देशमा राजनीति चलखेल बाहेक अरु केही छैन । श्वास फेर्न नपाएर अकालमा मर्न बाध्य छन् जनता । हजारौं स्वास्थ्य सम्बन्धि अध्यन गरेका बिद्यार्थी लाईसेन्स सिरानिमा हालेर लकडाउन छ भन्दै बेरोजगार भएर घरमा सुतेर टिकटक, पप्जी र फैसबुकमै दिन काटिरहेका छन् । उनीहरुलाई सरकारले प्रयोग गर्न सकेको छैन ? यस्तो बेला सरकार जनताप्रति उत्तरदायी हुनै पर्छ । त्यो उसको दायित्व पनि हो । हामीले पनि संयमित भई सरकारको राम्रो कामलाई सघाउने र झकझक्याउने गर्नुपर्छ ।

    कोरोनाको यस्तो आपतकालिन समयमा सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे अनुशासित मर्यादित तरिकाले भौतिक दूरीको पालना गर्दै मास्क र सेनिटाइजरको प्रयोग गर्ने, बेला बेला साबुन पानीनले हात धुने र सरसफाईमा ध्यान दिने कार्य गर्न जरुरी छ । यसले नै यो महामारीलाई परास्त पार्न सक्छ ।म अझै पनि भन्छु महामारीका बेला सरकार वा अस्पतालको मुख ताक्ने भन्दा पनि आफै सुरक्षित हुने हो । आफू बचौं र अरुलाई पनि बचाऔं ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार