Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ओलम्पिकमा यी खेलाडीले स्वर्ण पदक जिते, प्रतिस्पर्धीलाई पनि स्वर्ण दिलाए

    ओलम्पिकमा यी खेलाडीले स्वर्ण पदक जिते, प्रतिस्पर्धीलाई पनि स्वर्ण दिलाए

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 1.6K
    SHARES

    एजेन्सी – ३२ औं संस्करणको ग्रीष्मकालिन ओलम्पिक जापानको टोकियोमा जारी छ। ‘टोकियो ओलम्पिक’मा २०५ राष्ट्र र शरणार्थी टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

    खेलका पारखीहरुलाई टोकियो ओलम्पिकमा केही रोचक दृश्यहरु पनि देख्ने अवसर मिलिरहेको छ। केही दिनअघि मात्र पुच्छरमा रहँदै छनोट भएका एक खेलाडीले स्वर्णपदक जिते। यो घटनाले स्वर्ण विजेता उनीसँगै विश्वलाई नै चकित बनायो।



    यस्तै जारी ओलम्पिक खेलको एक प्रतिस्पर्धामा २ जना खेलाडीले संयुक्त रुपमा स्वर्ण पदक जितेका छन्। कतारका खेलाडीले एक्लै स्वर्ण पदक लिन अस्वीकार गरेपछि दुई खेलाडीलाई स्वर्ण पदक दिइएको हो।



    कतारका खेलाडी मुताज एस्सा बारशिमले आफूले त स्वर्ण पदक पाए नै आफूसँगै प्रतिस्पर्धा गरिरहेका इटालीका खेलाडी गियानमार्को ताम्बेरीलाई पनि स्वर्ण पदक दिलाए। अल जजीराका अनुसार ओलम्पिकको पुरुष हाइजम्प प्रतिस्पर्धामा यो घटना भएको हो।

    बारशिम र ताम्बेरी दुवैले २.३७ मिटर जम्प गरेर एकसाथ पहिलो स्थानमा रहे। त्यसपछि २ जनामध्ये एक विजेता छान्नुपर्ने भयो। यसको लागि खेल अधिकारीले उनीहरु दुबैलाई थप ३–३ जम्प गर्न भने। तर, पछि गरिएका तीनवटै जम्पमा यी दुईमध्ये कुनै पनि खेलाडी २.३७ मिटरको उचाइभन्दा माथि जान सकेनन्।

    तीन थप जम्प गर्ने क्रममा पनि विजेताको छिनोफानो हुन नसकेपछि अधिकारीहरुले उनीहरुलाई थप १–१ जम्प गर्न भने। तर, ३–३ जम्प गर्ने क्रममा इटालीका खेलाडी ताम्बेरी घाइते भएका थिए। खुट्टामा चोट लागेका उनी अर्को जम्प गर्न नसक्ने स्थितिमा थिए। त्यसकारण उनले प्रतिस्पर्धाबाट आफ्नो नाम फिर्ता लिए। त्यससँगै कतारी खेलाडी बारशिमलाई एक राम्रो जम्प गरेर स्वर्ण पदक जित्ने अवसर थियो। उनले एक जम्प गर्दा नै स्वर्ण जित्ने थिए।

    तर, प्रतिस्पर्धी खेलाडी घाइते भएर बाहिरिएपछि उनलाई त्यसो गर्न मन लागेन। बारशिमले खेल अधिकारीसँग ‘मैले पनि नाम फिर्ता लिए के हुन्छ ?’ भनेर प्रश्न गरे। अधिकारीले नियमको अध्ययन गरेर उनले पनि नाम फिर्ता लिए दुबैलाई स्वर्णपदक दिने व्यवस्था रहेको सुनाए। यो थाहा पाएपछि बारशिमले पनि प्रतिस्पर्धाबाट आफ्नो नाम फिर्ता लिए। त्यसपछि नियमअनुसार दुवै खेलाडीलाई स्वर्ण पदक दिइयो।

    बारशिमले आफ्नो ऐतिहासिक निर्णयपछि खेल संस्कार देखाएको बताएका छन्। ‘खेलमा जित्नु नै सबथोक हुँदैन। हामीले आउने पिढीँलाई प्रतिस्पर्धाको मर्म यस्तो हुनुपर्छ भनेर सन्देश दिएका छौं,’ उनले भने, ‘प्रतिस्पर्धी घाइते भएपछि एक्लै स्वर्णपदक लिन मनले मानेन।’

    ‘हामीले आफ्ना प्रति’द्व’न्द्वीलाई पनि सम्मान गर्नुपर्छ र जो हकदार छन् उनीहरुसँग सफलता बाँड्नुपर्छ,’ उनले भने। ताम्बेरीले खुसीमा बारशिमलाई अंकमाल गरे र दुवैले ओलम्पिक स्टेडियम परिक्रमा गरेर आफ्नो भावना व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार