Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पूर्जी, यस्तो छ कारण

    गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पूर्जी, यस्तो छ कारण

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    पर्वत। जिल्लाको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ ।

    गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट प्रहरीलाई लेखिएको पत्रमा अध्यक्ष मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको जनाइएको छ । अध्यक्ष मल्ललाई व्यवसायी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा विसं २०७७ चैत २७ मा पक्राउ गरी छ महिना कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकाले पक्राउ गर्न भनिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।



    प्रहरी प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी भइरहेको जानकारी दिए । ‘हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन’, उनले भने, ‘जतिसक्दो छिटो पक्राउ गरेर अदालतमा पेश गर्ने गरी खोजी भइरहेको छ ।’



    यसबारे बुझ्न सम्पर्क गर्दा अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको जनाउँदै विसं २०६८ मा राजेश बोहराले फोर्स गाडी निकाल्दा जमानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैँले तिरिदिएको बताए । विसं २०६८ कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम रु १० लाख १७ हजार ९५ रहेको पनि मल्लको भनाइ छ ।

    ‘किनेको मान्छेले तिर्न नसकेपछि कानुनअनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ । मैले पैसा तिरिरहेको छु । धनी नबिल बैंक पोखरा शाखा हो भने ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कन्स्ट्रक्शन प्रालि भन्ने रहेको छ । बा२ख ३२८४ नंको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो’, उनले भने, ‘उसले नतिरे म तिरौँला भनेर नै जमानी बसेको हुँ । बोहोराले गाडी चलाउन नसकेपछि हिमालयन अटोले गाडी पनि लगेर त्यहीँ राखेको छ । यसबारेमा बल्ल थाहा पाएपछि मैले सबै पैसा दिएको छु ।’

    नेपाली कांग्रेसको कोषाध्यक्षसमेत रहेका मल्लले आगामी १४औँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारको तयारी गरेका छन् । जिल्ला सभापतिमा लड्ने कुरा गरिरहेको र बलियो दाबेदारसमेत रहेकाले आफूलाई यसबाट विफल पार्न यो अदालती प्रक्रिया अपनाइएको उनको गुनासो छ । ‘फैसला भएको पनि मलाई त थाहा नै छैन । पहिले त्यो बारेमा थाहा भएको भए त तिरिदिन्थेँ’, उनले भने, ‘मैले कसैलाई एक रुपैयाँ ठगेको र खाएको छैन, यो १० लाख तिर्नु पनि ठूलो कुरा थिएन । उनीहरूले समयमा नै मलाई भनेको भए तिरिन्थ्यो । कसरी हुन्छ बेइज्जत गराउने उद्देश्यले भएको हो जस्तो मलाई लाग्छ ।’

    हिमालयन अटोका प्रोप्राइटर ध्रुव बहादुर थापाले आफूले पाउनुपर्ने रकम सबै आएपछि अदालतमा पुगेर पैसा बुझिलिएको कागज गरिसकेको र यो मुद्दा सकिएको बताए । ‘उनले साथीको लागि गाडी निकालिदिएका हुन्, उनी आफैँले लगेका पनि होइनन् । जमानी बसेका कारण यो अवस्था आएको हो,’ उनले भने, ‘पैसा पहिले नै तिरेको भए यो अवस्था आउने थिएन । यो मुद्दाका सबै प्रक्रियाहरू ‘डिसमिस’ भएको उनको भनाइ छ ।-रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार