Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिविका परीक्षा निर्धारित समयमै

    त्रिविका परीक्षा निर्धारित समयमै

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ। सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा नियमित गर्न अनुमति दिएको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ।

    विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको स्वीकृतिमा भदौको परीक्षा कार्यतालिका नियमित रूपमा सञ्चालन हुने जानकारी दिए। भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ।



    यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुनेछ। सीसीएमसीले आगामी दिनको परीक्षा सञ्चालन गर्न हुने नहुने सम्बन्धमा हाल सञ्चालित विभिन्न तहको परीक्षाको निरीक्षणसमेत गरेको थियो ।



    निरीक्षणका क्रममा सीसीएमसीका अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गरी लिखित रूपमा नै विश्वविद्यालयलाई सुझाव दिएका छन्। सीसीएमसीका सुझाव कार्यान्वयन गरिने र परीक्षा केन्द्रमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न निर्देश गरिएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिए।

    यसअघि विश्वविद्यालयले भदौ ५ गतेसम्म प्रकाशित कार्यतालिकाअनुसारको परीक्षा सञ्चालन गर्न सीसीएमसीबाट स्वीकृति लिइएको थियो। विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा साउन २८ गते सकिएको छ। स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि उक्त परीक्षा दिएका हुन्।

    स्नातक तहतर्फ विज्ञान, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा हालै मात्र सकिएको छ। हाल स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गत परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

    परीक्षा विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चालन गरिएको र विद्यार्थी सङ्ख्या न्यून भएकाले परीक्षा सञ्चालनमा कुनै समस्या नभएको जानकारी नियन्त्रक जोशीले दिए।

    विश्वविद्यालयका अधिकांश शिक्षक, कर्मचारीले कोरोनाविरुद्धको खोप लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले विश्वविद्यालयको परीक्षा कार्यक्रम अब नियमित रूपमा सञ्चालन हुने अवस्था रहेको जनाइएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार