Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • म्यानमारको सैनिक सरकारलाई ठूलो धक्का , आसियानको शिखर बैठकमा सहभागी नगराइने

    म्यानमारको सैनिक सरकारलाई ठूलो धक्का , आसियानको शिखर बैठकमा सहभागी नगराइने

    अनलाइन नेपाल
  • शनिबार, ३० असोज २०७८
  • 2K
    SHARES

    एजेन्सी। म्यानमारमा गएको फेब्रुअरीमा सत्ता हत्याएका सैनिक जनरललाई यसै महिनाको अन्त्यमा हुने एउटा वार्षिक सम्मेलनमा सहभागी नगराउने निर्णय गरिएको छ।

    दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन (आसियान)ले जनरल मिन ओङ ह्लाइङको सट्टामा गैर राजनीतिक प्रतिनिधि बोलाउने सहमति गरेको हो।



    सदस्य देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने परम्परा रहेको १० सदस्यीय क्षेत्रीय समूहले गरेको यो अभूतपूर्व किसिमको निर्णय हो।



    आसियानले म्यानमारको द्वन्द्व अन्त्य गर्न सेनाले पर्याप्त नगरेको बताएको छ।

    गएको अगष्टमा सेना प्रमुख मिन ओङ ह्लाइङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका थिए।

    उनले सैनिक कूको विरोध गरिरहेका मिलिसिया र सेनाबीच लडाइँ भइरहेकाले देशमा सङ्कटकालको अवस्था लम्ब्याइएको पनि घोषणा गरेका थिए। आसियानले शुक्रवार बसेको उक्त सङ्गठन आबद्ध देशका विदेशमन्त्रीको आपत्कालीन बैठकमा म्यानमारको सेनालाई अक्टोबर २६ देखि २८ सम्म हुने शिखर बैठकमा प्रतिनिधित्व गर्न दिने या नदिनेमा सहमति नभएको विज्ञप्तिमार्फत् जनाएको छ।

    उक्त समूहले म्यानमारका सैनिक नेताहरूले संवाद र द्वन्द्व कम गर्ने आफ्ना वाचा पूरा गर्न नसकेको र आफ्ना प्रतिनिधिहरूलाई हाल नजरबन्दमा राखिएकी आङ सान सू चीलाई भेट्न नदिइएको जनाएको छ।

    शिखर सम्मेलन आयोजक रहेको ब्रुनाइले म्यानमारको अवस्थाले ‘क्षेत्रीय सुरक्षा, एकता, विश्वसनीयता र आसियानको केन्द्रीयतामा प्रभाव पारिरहेको’ जनाएको छ।

    गएको एप्रिलमा आसियानले म्यानमारका सैनिक प्रमुखलाई देशमा जारी हिंसात्मक दमन रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो।

    ब्याङ्ककमा रहेका बीबीसी संवाददाता जोनाथन हेडका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनसहित अन्य विश्व नेताहरू समेत सहभागी हुने सम्मेलनमा म्यानमारका सैनिक जनरललाई सहभागी नगराइनु अन्तर्राष्ट्रिय मान्यताको अपेक्षा गरिरहेको सैनिक सरकारका लागि ठूलो धक्का हो।आसियानले सम्मेलनमा भाग लिन आफूले निम्तो दिने म्यानमारका प्रतिनिधिको नाम भने खुलाएको छैन।

    फेब्रुअरीमा सेनाले सत्ता हातमा लिए यता म्यानमारभर प्रदर्शनहरू भएका छन्।

    सुरक्षा फौजहरूले गरेका निर्मम दमनमा १ हजार भन्दा बढी मारिएको र ६ हजार भन्दा बढीलाई थुनामा लिइएका राजनीतिक बन्दीहरूलाई सहयोग गर्ने एउटा निकायले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार