Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • के घुस नदिंदा प्रहरीका लेखापालको सरुवा रोकिएको हो ?

    के घुस नदिंदा प्रहरीका लेखापालको सरुवा रोकिएको हो ?

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । कानून कार्यान्वयन गर्ने अभिभारा बोकेको सुरक्षा निकाय हो, नेपाल प्रहरी । यही प्रहरी संगठनले विधि र प्रक्रिया कुल्चिँदा लेखापालको सरुवा र सेवा परिवर्तन प्रभावित हुन पुगेको छ । प्रहरी नियमावलीअनुसार, प्रत्येक दुई/दुई वर्षमा लेखापालहरूको सरुवा हुनुपर्छ ।

    सशस्त्रमा भने १/१ वर्षमा यस्ता लेखापालहरूको सरुवा र हेरफेर गर्ने प्रचलन छ । नेपाल प्रहरीले असारको सुरु वा अन्तिम सातासम्म लेखापालको सरुवा गर्नुपर्दथ्यो। लेखापालले आर्थिक वर्षको सुरुदेखि नै हिसाब किताब राख्दा सजिलो हुने भएकाले साउन १ गतेदेखि नै काम गर्नेगरी सरुवा गर्ने परिपाटी नेपाल प्रहरीमा छ ।



    तर नियमावलीअनुसार सरुवा गर्नुपर्ने लेखापालहरूको सरुवा चार महिनादेखि अन्योलमा परेको छ । प्रहरी स्रोतका अनुसार, एउटै कार्यालयमा दुई वर्ष काम गरेका लेखापालको संख्या करिब एक सय छ । प्रहरीको लेखापाल निकै आकर्षक मानिन्छ । यसको जिम्मेवारी लेखासम्बन्धी तालिम लिएकासईदेखि इन्स्पेक्टर तहकालाई दिने गरिन्छ । कतै कतै असईले पनि यो भूमिका पाएका छन् । जानकारहरूका अनुसार प्रहरीका लेखापालहरूको सरुवा इतिहासमै यसरी सायदै अन्योलमा पर्ने गरेको थियो ।



    लेखापालहरूको सरुवा गर्ने क्षेत्राधिकार प्रहरी महानिरीक्षकसँग हुन्छ । यसका लागि उनले विभागीय मन्त्री र सचिव कुरिराख्नु पर्दैन । र्आइजीपी शैलेस थापा क्षेत्रीले आफ्नो अधिकार प्रयोग गर्दै समयमा नै लेखापाल सरुवाको मनस्थिति बनाएका थिए । ‘र्आइजीपी क्षेत्रीले सरुवाको तयारी गरे पनि राजनीतिक दुश्प्रभावले आक्रान्त नेपाल प्रहरीमा गृहमन्त्री र गृह सचिवको हस्तक्षेपले प्रभावित भएको छ,’ नेपाल प्रहरीको उच्च स्रोतले भन्यो ।

    स्रोतका अनुसार, गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेदेखि गृहका अधिकारीले लेखापाल सरुवामा गहिरो चासो देखाएका छन् । ‘लेखापाल सरुवामा थैली खोजिएको छ, त्यसैले महानिरीक्षकले चाहँदा चाहँदै पनि प्रहरीका लेखापालको सरुवा चार महिनादेखि अन्योलग्रस्त बनेको छ,’ प्रहरी स्रोतको दावी छ ।

    त्यसो त लेखापालको सरुवाका लागि कार्यविधि नै परिवर्तनको तयारी गरिएको छ । स्रोतका अनुसार, अहिले यसका लागि काम भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँबर लेखापाल सरुवाको कार्यविधि परिवर्तनको तयारीले प्रभावित भएको बताउँछन् ।

    प्रहरी विगत वर्षमा ६ वर्ष लेखापालका रूपमा कार्यरतलाई अन्य समूहमा सरुवा गर्ने गरेको थियो । यस पटक लेखापाल सरुवा प्रभावित हुँदा सेवा परिवर्तनसमेत हुन सकेको छैन ।( साँघु साप्ताहिक)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार