Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • म्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोहको आरोप, ११ वर्षको जेल सजाय

    म्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोहको आरोप, ११ वर्षको जेल सजाय

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1K
    SHARES

    एजेन्सी । म्यान्मारमा एउटा सैन्य अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई ११ वर्ष जेल सजाय दिने निर्णय सुनाएको छ।

    फेन्स्टरले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको ठहर उक्त अदालतले गरेको छ।



    केही दिनअघि उनीविरुद्ध सैन्य सरकारले राजद्रोह र आतङ्कवादका अन्य दुई अभियोग लगाएको थियो। ती अभियोग प्रमाणित हुँदा आजीवन कारावास पनि हुनसक्छ। तर, नयाँ मुद्दामा निर्णय हुन बाँकी नै छ।



    सैँतीस वर्षीय फेन्स्टर फ्रन्टीअर म्यान्मार अनलाइन साइटका प्रबन्ध सम्पादक थिए। उनलाई गत मे महिनामा याङ्गुनस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

    सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यान्मारमा दर्जनौँ पत्रकार पक्राउ परेका छन्। फ्रन्टीअरका अनुसार फेन्स्टरले पहिला सेनाको आलोचना गर्ने ‘म्यान्मार नाऊ’ नामक स्वतन्त्र सामाचार साइटका लागि काम गरेका थिए।

    ‘सबै अभियोगहरू उनी प्रतिबन्धित म्यान्मार नाऊका लागि काम गरेको आरोपमा आधारित थिए। ड्यानीले जुलाई २०२० मै म्यान्मार नाऊबाट राजीनामा दिएका थिए र अर्को महिना फ्रन्टीअरसँग आबद्ध भएका थिए,’ फ्रन्टीअर म्यान्मारले भनेको छ।

    ‘त्यसैले मे २०२१ मा पक्राउ पर्दा उनी नौ महिनाभन्दा बढी समयदेखि फ्रन्टीअरमा काम गर्दै आएका थिए।

    म्यान्मारमा वरिष्ठ सैन्य अधिकारीहरूले सत्तासीन दल न्याश्नल लीग फर डेमोक्रसीको नेतृत्वबाट देशको शासन आफ्नो हातमा लिएका थिए।

    निर्वाचनमा व्यापक धाँधली भएको दाबी गर्दै सेनाले उक्त कदम चालेको थियो। तर त्यतिबेला देशको निर्वाचन आयोगले धाँधली भएको दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताएको थियो।

    सैन्य शासन लागेपछि विरोध दमन गर्ने क्रममा सेनाको कारबाहीमा कम्तीमा १,१७८ जनाको मृत्यु भइसकेको राजनीतिक बन्दीको निगरानी गर्ने एउटा संस्था असिस्टन्स एशोसिएशन फर पलिटिकल प्रिजनर्सले जनाएको छ।

    उक्त संस्थाका अनुसार सेनाले ७,३०० जनाभन्दा बढी मानिसलाई पक्राउ गरेको, मुद्दा चलाएको वा दोषी ठहर गरेको छ। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार