Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • संयुक्त राष्ट्रसंघद्वारा म्यान्मारको सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित

    संयुक्त राष्ट्रसंघद्वारा म्यान्मारको सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 1.7K
    SHARES

    एजेन्सी। संयुक्त राष्ट्रसंघले म्यान्मारमा यो वर्ष भएको ‘सैन्य कू’को प्रतिक्रियास्वरूप उक्त देशको सेनालाई हतियार आपूर्ति नगर्न अरूलाई आग्रह गरेको छ। त्यस्तो आग्रहलाई विरल मानिन्छ।

    राष्ट्रसंघको महासभाले एउटा प्रस्ताव पारित गर्दै फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने सेनाको कदमको निन्दा गरेको छ।



    राष्ट्रसंघले निर्वाचित नेत्री आङ सान सू चीसहितका राजनीतिक बन्दीलाई मुक्ति गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध हिंसक दमन बन्द गर्न आह्वान पनि गरेको छ। कानुनी रूपमा बाध्यकारी नभए पनि राष्ट्रसङ्घको प्रस्तावलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।



    म्यान्मारका लागि राष्ट्रसंघीय विशेष दूत क्रिस्टिन श्नानर बुर्गनरले भनिन्, ‘साँच्चिकै ठूलो गृहयुद्धको जोखिम छ। ढिलो भइसकेको छ। सैन्य कदमलाई फिर्ता गर्ने अवसर साँघुरो भइरहेको छ।’

    एक सय १९ देशले उक्त प्रस्तावको समर्थन गर्दा बेलारुस मात्र विपक्षमा उभिएको थियो। रुस र चीनसहितका अन्य ३६ देश मतदानमा सहभागी भएनन्। राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्य पनि रहेका रुस र चीन म्यान्मारको सेनाका लागि दुई ठूला अस्त्र आपूर्तिकर्ता हुन्।

    दक्षिण एशियाली देशमध्ये नेपाल, भारत, पाकिस्तान, भुटान, बाङ्ग्लादेश र श्रीलङ्काले मतदान गरेनन्। तर अफगानिस्तान र माल्दिभ्सले प्रस्तावको पक्षमा मतदान गरे।

    त्यसरी मतदानमा सहभागी नभएका केही देशले उक्त विषय म्यान्मारको आन्तरिक मामिला भएको बताएका थिए।

    अन्य केहीले उक्त प्रस्तावले चार वर्षअघि सेनाले रोहिन्ज्या मुस्लिमविरुद्ध गरेको क्रूर आक्रमणको विषयलाई सम्बोधन नगरेको बताएका थिए।

    त्यतिबेला झन्डै १० लाख रोहिन्ज्याहरू म्यान्मार छाड्न बाध्य भएका थिए। राष्ट्रसंघमा निर्वाचित सरकारको प्रतिनिधित्व गर्ने म्यान्मारका राजदूत जो मु टुनले उक्त प्रस्ताव पारित गर्नका लागि महासभाले लगाएको समयका कारण आफू निराश भएको बताउँदै त्यो ‘कम प्रभावकारी’ प्रस्ताव भएको बताएका छन्। फेब्रुअरीमा सैन्य कू गर्दा म्यान्मारको सेनाले गत वर्ष नोभेम्बरमा सम्पन्न निर्वाचनमा अनियमितता दाबी गरेको थियो।

    तर स्वतन्त्र पर्यवेक्षकहरूले उक्त चुनाव धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको एवं नेत्री आङ सान सू चीविरुद्धका अभियोग राजनीतिक उद्देश्यले प्रेरित भएको बताउँदै आएका छन्।

    सैन्य कूपछि देशभरि ठूला प्रदर्शनहरू भएका छन् र म्यान्मारको सेनाले प्रजातन्त्रपक्षधर प्रदर्शनकारी, अभियानकर्मी र पत्रकारमाथि दमन गरिरहेको छ।

    सुरक्षा फौजले अहिलेसम्म ८६० जनाको हत्या गरेको छ भने झन्डै ५,००० मानिस हिरासतमा छन्। – बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार