Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • १० सचिवको सरुवा, ओली निकट विवदित सचिव न्यौपाने पर्यटनमा

    १० सचिवको सरुवा, ओली निकट विवदित सचिव न्यौपाने पर्यटनमा

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले १० जना सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गरेको हो ।

    सरुवा सूची अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई शिक्षा मन्त्रालय तथा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।



    त्यसैगरी सहरी विकास मन्त्रालयका रमेश सिंहलाई (अतिरिक्त)जगेडामा राखिएको छ भने ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा ल्याइएको छ ।



    वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ भने प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाइएको छ ।

    त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

    त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । गृहसचिव हुँदा प्रहरीको सरुवा तथा बढुवामा आफ्नै भान्जा सुजन पौडेलमार्फत आर्थिक चलखेल गरेर विवादमा तानिएका सचिव न्यौपाने पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।

    ओली प्रधानमन्त्री हुँदा नेकपा एमालेका युवा नेता महेश बस्नेतले उनलाई गृहमा ल्याएका थिए । न्यौपाने यसअघि पनि पर्यटन मन्त्रालयका सचिव थिए ।

    यसअघि देउवा सरकारकै पालामा जितेन्द्र देव पर्यटन मन्त्री हुँदा उनी पर्यटन सचिव थिए । लुम्बिनी विकास कोषको नियुक्ति अड्काएपछि ओली प्रधानमन्त्री हुने दिन २०७४ फागुन २ मा उनको सरुवा भएको थियो । केपी शर्मा ओली सरकारमा आएपछि न्यौपानेले लामो समय गृहमन्त्रालय सम्हाल्ने मौका पाए ।

    न्यौपानेमाथि गृह मन्त्रालयमा आएपछि ओलीको निर्देशनमा काम गरेको र कांग्रेस निकटका कर्मचारीहरुलाई विना कारण दुःख दिएको आरोप पनि लागेको थियो ।

    पर्यटनका आम्दानी हुने बाटाहरु सबै जानकारी भएका उनी मन्त्री प्रेम आलेलाई प्रभावमा पारेर पर्यटन सचिव बन्न सफल भएका हुन् ।

    आर्थिक रुपमा निकै बद्नाम मानिने न्यौपानले उद्योग विभागको महानिर्देशक हुँदा एनसेलको शेयर खरिद विक्री (एसपीए) गराएका थिए । उनैले गर्दा एनसेलले ७२ अर्ब पूँजीगत लाभकर नतिरी टेलियासोनेराका सञ्चालक स्वीडेन भागेका थिए ।

    एनसेलबाट ७२ अर्ब लाभकर असुली नहुनुका पछाडि महेश्वर न्यौपाने पनि कारक हुन् । चूडामणी शर्मा, शोभाकान्त पौडेल जस्तै न्यौपानेले पनि एनसेललाई लाभकर छल्न सहयोग गरेका थिए । यदि न्यौपानेले नेपाली लगानीकर्ता निरज गोविन्द श्रेष्ठको २० प्रतिशत शेयर शतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा नामसारी नगरेको भए एनसेल लाभकर तिर्न बाध्य हुन्थ्यो ।

    उद्योग विभागबाट अर्थ मन्त्रालय, निर्वाचन आयोगमा गएपछि पनि न्यौपाने आर्थिक मामलामा विवादमा आए । निर्वाचन आयोगमा हुँदा तत्कलिन प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसँग मिलेर गाडी खरिददेखि विभिन्न शिर्षकमा करोडौं भ्रष्टाचार गरेका थिए ।

    गृह मन्त्रालयको सचिव भएपछि प्रहरीका सरुवा बढुवा, ठेक्कापट्टादेखि मनाङमा सशस्त्रको पर्वतिय तालिम केन्द्रको जग्गा खरिदमा १० करोड भ्रष्टाचार काण्डमा पनि उनी मुछिएका थिए ।

    नेपाल प्रहरीको यूएन मिसनका लागि हुने प्रिस्याट परिक्षाको प्रश्नपत्र आउट भएको विषयमा छानविन गर्दै जाँदा उनी समेत संलग्न भएको देखिएपछि सिपाही हवल्दारलाई कारबाही गरी उक्त प्रकरण ढिसमिस पारिएको थियो ।

    गृह सचिव हुँदा उनले नै एक इन्सपेक्टरलाई म्यासेन्जरमार्फत परीक्षा अगावै प्रश्नपत्र पठाएको भेटिएपछि उक्त प्रकरणमा डिएसपीद्वय बासुदेव पाठक, रुपेश खड्का, इन्सपेक्टर निरज पुनसहितका मुख्य दोषीलाई उम्काएर हवल्दार कुमार साह र सिपाहीलाई मात्रै बर्खास्त गरिएको थियो ।

    न्यौपानेमाथि गृहसचिव हुँदा भान्जा सुजन पौडेलमार्फत प्रहरीको सरुवा बढुवादेखि विभिन्न सेटिङका काम गरेको आरोप लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार