Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ९ महिनामा व्यापार घाटा १३ खर्ब नाघ्यो, रेमिट्यान्स पनि घट्यो

    ९ महिनामा व्यापार घाटा १३ खर्ब नाघ्यो, रेमिट्यान्स पनि घट्यो

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । आयात अनियन्त्रित रुपमा बढ्दा देशको समग्र अर्थतन्त्र नै डामाडोल बनेको छ भने ब्यापार घाटा पनि अचाक्ली बढेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म आयात ३२ प्रतिशत बढेर १४ खर्ब ६६ अर्ब पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा १३.१ प्रतिशतले आयात बढेको थियो । यस वर्ष भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले बढेको राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ ।



    सरकारले व्यापार घाटा बढेको भन्दै विभिन्न वस्तुहरुको आयातमा कडाइ गरे पनि त्यसको खासै प्रभाव देखिएको छैन । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ । रासायनिक मल, सिमेन्ट, दाल, मोलासीस सुगरलगायतका वस्तुको आयात भने घटेको राष्ट्र बैंकले जनाएको छ ।



    निर्यातमा पनि उच्च बृद्धि
    त्यसो त यस अवधिमा निर्यातमा पनि ६९.४ प्रतिशतको उच्च वृद्धि देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २०.२ प्रतिशतले निर्यात बढेको थियो । यस आर्थिक वर्ष वैशाखसम्म १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँको वस्तु नेपालबाट निर्यात भएको राष्ट्र बैंकको तथ्यांक छ ।

    नेपालबाट भारत तथा अन्य मुलुकमा भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले बढेको छ । चीनतर्फको निर्यात भने २१.८ प्रतिशत घटेको छ । नेपालबाट पाम तेल, सोयाबिन तेल, धागो, ऊनी गलैंचा, पिनालगायत वस्तुको निर्यात बढ्दा अलैंची, चिया, तार, दन्तमञ्जनलगायतको घटेको छ ।

    निर्यात बढे पनि व्यापार घाटा अझै फराकिलो बनेको छ । ९ महिनामा व्यापार घाटा २८.५ प्रतिशतले बढेर १३ खर्ब ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो ।

    रेमिट्यान्स पनि घट्यो
    नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ ।नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको हो ।

    अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्समा २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.१ प्रतिशतले बढेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार