Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर, शुक्रबार नगर परिषद् हुँदै

    ६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर, शुक्रबार नगर परिषद् हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 861
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ ।

    चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार बजेट अन्तिम तयारीमा रहेको छ ।



    उनले भने, ‘हामी रु ६ अर्ब हाराहारीको बजेट ल्याउँदैछौँ ।’ बजेट पूर्व महानगरपालिकाले सङ्घ र प्रदेशका मन्त्री, सचिव, महानिर्देशकहरूसँग छलफल र सुझावसमेत लिएको थियो । छलफलमा पूर्वप्रधानमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका विशिष्ठ अधिकारीहरू पनि सहभागी रहेका थिए ।



    महानगरपालिका प्रमुख रेनु दाहालले बजेटले उत्पादन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा जोड दिइएको बताए । गत पाँच वर्ष भौतिक पूर्वाधारअन्तर्गत सडकमा जोड दिएको महानगरपालिकाले आउँदो बजेटमा भौतिक पूर्वाधारअन्तर्गत ढलमा बढी जोड दिन लागेको उनले जानकारी दिए ।

    महानगर क्षेत्रलाई सुन्दर बनाउने योजना अघि सारिएको छ । खाल्डाखुल्डी सडकलाई मर्मतसम्भार कार्यलाई प्रथामिकता दिन लागिएको छ । बजेटमा शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको समेत ख्याल गरी शैक्षिक कार्यक्रम अघि वढाउन लागिएको छ ।

    महानगरभित्रका सबै टोल सुधार समितिहरूलाई टोल सुरक्षा, जनसङ्ख्याको अभिलेख, सडक हरियाली, सडक बत्ती, फोहर सङ्कलन र रु एक लाख बराबरको टोल सुधार तथा विविध मर्मत कार्यक्रमहरूको कार्यविधि बनाई टोल सुधार समितिहरूलाई सशक्तीकरण गर्ने योजना महानगरको रहेको छ ।

    उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आम्दानी बढोत्तरी गर्न कर शिक्षा, कर सचेतनाजस्ता कार्यक्रममा टोल सुधार समितिहरूलाई परिचालन गरी करको दायरामा ल्याउन लागिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार