Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने

    ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 639
    SHARES

    काठमाडौं । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ ।

    मुम्बईबाट कुरा गर्दै निर्माता सन्तोष सेनले चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको बताए । उनका अनुसार यूएफओले चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ ।



    ‘प्रेमगीत ३’ को समुद्रपार वितरण अधिकार यूएफओ र मधु इन्टरटेनमेन्टले लिएका छन् । चीनमा हिन्दी र अंग्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नुपर्ने बाध्यता छ ।



    ‘फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनको लागि आग्रह गरेपछि बैठक बसेको हो,’ सेनले भने ।

    चिनियाँ भाषामा डब गर्न केही समय लाग्ने भएकाले एक-दुई महिना ढिलो गरेर प्रदर्शन गर्ने तयारी भएको सेनले बताए । चीन रिलिजबारेको दोस्रो बैठक दुई-तीन दिनमै पुनः बस्ने भएको छ ।

    चीन विश्वको सबैभन्दा ठूलो फिल्म बजार हो । सन् २०२१ को आँकडाअनुसार चीनमा फिल्मको कुल बजार ७.३ बिलियन अमेरिकी डलर छ । भारत चाहिं ०.५ बिलियन डलरसहित विश्वको आठौं ठूलो फिल्म बजार हो । दोस्रो ठूलो फिल्म बजार अमेरिकी फिल्म बजारको आकार सन् २०२१ मा ४.५ बिलियन डलर छ । ‘प्रेमगीत ३’ले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा सघाउ पुर्‍याउने आशा निर्माता सेनले व्यक्त गरे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार