Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रहरी तालिम गुणस्तरीय बनाउन एकेडेमीले सहयोग गर्छ : गृहमन्त्री खाँण

    प्रहरी तालिम गुणस्तरीय बनाउन एकेडेमीले सहयोग गर्छ : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 1K
    SHARES

    काभ्रे । गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण हुने नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानले नेपाल प्रहरीका अधिकृतको तालिमलाई अत्याधुनिक र गुणस्तरीय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । प्रतिष्ठानको भवन निर्माण अन्तर्गतको भूमि पूजन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।



    प्रहरी कर्मचारीलाई सुरक्षा र आपराधिक कामको रोकथाम गर्न र नियन्त्रण गर्न नियमित र विशिष्टीकृत तालिम गर्न आवश्यक रहेको परिस्थितिमा एकेडेमीको योगदान रहने उनले बताए ।



    गृहमन्त्री खाँणले करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीको फिल्डमा नेतृत्व र सङ्गठनको नेतृत्व गर्ने जनशक्ति उत्पादन गर्ने अत्याधुनिक उपकरण र सुविधासहितको विश्व स्तरीय तालिम केन्द्रको अभाव भएका बेला परियोजनाले पूरा गर्ने बताए ।

    लामो समयदेखि एकेडेमीलाई परिष्कृत र आवश्यकताअनुसार नयाँ प्रविधि र साधन स्रोतयुक्त बनाउने प्रहरीको सपना साकार बनाउन एकेडेमीले सहयोग गर्ने उनको भनाई छ ।

    गृहमन्त्री खाँणले प्रतिष्ठानको निर्माण परियोजनाको काम नेपाल प्रहरी र नेपालका लागि गौरवपूर्ण र ऐतिहासिक महत्त्वपूर्ण रहेको बताए । गृहमन्त्री खाँणले नेपाल र भारतबीचको सम्बन्ध सदिऔँदेखि निरन्तर सौहार्द, सुमधुर र मैत्रीपूर्ण बन्दै आएको बताए ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीच वर्षौँदेखि मित्रवत् सम्बन्ध रहेको बताउँदै भारतले नेपाल सरकारसँग मिलेर रेलको लिक बनाउने बताए ।

    सुख्खा बन्दरगाह, अस्पताल, शैक्षिक संस्था निर्माणको काम पनि भइरहेको उनले जानकारी गराए । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वाधार निर्माणका साथै आगामी दिनमा तालिमका लागि भारतीय प्रहरी एकेडेमी र नेपाल प्रहरी एकेडेमीबीच थप सम्झौता हुनेमा आफू आशावादी रहेको उनले विश्वास व्यक्त गरे ।

    प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणले गर्ने २५ वर्षदेखिको सपना साकार हुन लागेको भन्दै खुसी व्यक्त गरे । परियोजनाको विस्तृत परियोजना रिपोर्ट अन्तिम चरणमा रहेको बताउँदै प्रतिष्ठान निर्माणको विषयमा आएका वातावरणीय समस्या समाधान उन्मुख रहेको बताए ।

    भारतीय सरकारको अनुदान सहयोगमा निर्माण हुने प्रतिष्ठान निर्माणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणको क्रममा सन् २०१४ नोभेम्बर २५ मा प्रतिष्ठान निर्माणको सम्झौता भएको थियो ।

    करिब ८४ एकड क्षेत्रफलमा एकेडेमीका लागि आवश्यक पर्ने भौतिक संरचनाहरु निर्माण हुने बताइएको छ । एकेडेमीको सम्पूर्ण संरचना तयार गर्न करिब दश अर्ब रुपियाँ लगानी हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार