Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पशुपतिको जलहरीमा ०.२९१ किलोग्राम सुन कम, अख्तियारले भोलिसम्म अनुसन्धान सक्ने

    पशुपतिको जलहरीमा ०.२९१ किलोग्राम सुन कम, अख्तियारले भोलिसम्म अनुसन्धान सक्ने

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो । पशुपतिनाथको जलहरी जोखेर परीक्षणको प्रतिवेदन अख्तियारमा पठाइएको छ ।



    जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको अख्तियार स्रोतले बतायो ।



    सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ । सोमबार नेपाली सेनाको सुरक्षामा शिलबन्दी गरी पशुपतिको रुद्रगारेश्वरमा निर्मित लकरमा राखिएको छ। मंगलबार ज्योतिर्लिङ्गमा राखिनेछ ।

    जलहरी आइतबार मध्यरातसम्म लगाएर जोखिएको हो । जलहरी नापजाँचको प्रतिवेदन अख्तियारले आज लिएर गएको छ । गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो । जलहरी जाँच्न आइतबार दिउँसो १ बजेबाट पशुपतिनाथ मन्दिर परिसर प्रवेशमा रोक लगाएर जलहरी परीक्षण गरिएको थियो ।

    राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिमाणअनुसार काम नगरेको भन्दै २ वर्षअघि अख्तियारमा उजुरी परेको थियो । उजुरीमाथि प्रारम्भिक छानबिन गरेपछि अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान गरिरहेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जलहरी निर्माण प्रक्रियामा सामेल कोषका पदाधिकारी, सदस्य, कालिगड, भट्ट पुजारी, सुरक्षाकर्मी लगायतसँग अख्तियारले बयान लिइसकेको छ ।

    जलहरी कस्न बनाइएका काँटीको मापन गर्दा सुनको तौल लगभग पुग्ने देखिने पशुपति क्षेत्र विकास कोषको दाबी छ । महालेखा परीक्षकको प्रतिवेदनमा जलहरीमा प्रयोग भएको सुनको मापन करिब ९७ केजी र करिब ११ केजीको रिङ भएको भन्दै पशुपति विकास कोषको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो । जलहरीमा राखिएको सुन अपुग भएको दाबी गर्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

    जलहरीको मुचुल्का नै शंकास्पद

    मुचुल्का उठाउने क्रममा भएको सङ्ख्यात्मक त्रुटिका कारण जलहरीको विषय विवादित बनेको कोषका सदस्य सचिव मिलन थापाले स्वीकार गरेका थिए । तर, सबै काम सेनाको कडा रेखदेखमा भएको उनले बताएका थिए ।

    विकास कोषका कार्यकारी निर्देशक खतिवडाले राष्ट्र बैङ्कबाट दुई पटक गरी १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको उल्लेख छ । उनका अनुसार सुरक्षाको जिम्मा सरकारले नै खटाएको विमानस्थलस्थित कालीदल गणले लिएको र सेनाकै रोहवरमा पशुपति क्षेत्रको रुद्रगारेश्वरस्थित ज्यासलमा राखिएर जलहरी बनाइएको थियो ।

    जलहरी निर्माणका क्रममा तयार गरिएको मुचुल्का बमोजिम ९६ किलो ८२२ ग्राम सुनको जलहरी बनाएर चाँदीको जलहरीमाथि राखिएको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनमध्ये जलहरीको माथिल्लो भागको सुरक्षाका लागि रिङ, पेटी तथा सुनका किला बनाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार