Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रहरीमा कीर्ते र कालोसूचीमा परेका बद्नाम ठेकेदार सक्रिय, यसरी हुँदैछ अर्बौंको ठेक्का सेटिङ

    प्रहरीमा कीर्ते र कालोसूचीमा परेका बद्नाम ठेकेदार सक्रिय, यसरी हुँदैछ अर्बौंको ठेक्का सेटिङ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 4.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले सुशासन, पारदर्शीता र शुद्धिकरणको बिषय बारम्बार उठाउँछन् । तर, प्रहरीको सरुवा बढुवादेखि ठेक्कापट्टामा आर्थिक लेनदेनका बिषय आइरहन्छन् । प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायब निरीक्षक (डिएसपी)को बढुवामा ४६ मेरिटभित्र रहेका र अब्बल अधिकृत बढुवामा पर्न सकेनन् ।

    तर, आर्थिक लेनदेनका आधारमा १ सय ३० औं नम्बरका समेत बढुवामा परेको बिषयले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी कुँवर विवादमा परे । मानवस्रोत विभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सन्दीप भण्डारीले पनि दररेट असुलेर ९ जनाभन्दा बढी इन्स्पेक्टर बढुवा गरेको आरोप छ ।



    त्यसैगरी, प्रहरीको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले चुस्ता, डीएमएस बुट, स्पोर्ट जुत्ता, पार्का ज्याकेट सहितका १९ वटा आईटमको टेण्डर गर्दा पनि पहिले नै सेटिङ गरी सूचना निकालेको समाचार अनलाइन नेपालले उजागर गरिसकेको छ । स्रोतका अनुसार १ अर्ब भन्दा बढीको सामान खरिदमा पिताम्बर मुन्कालगायतका ठेकेदारले पाउनेगरी पहिले नै सेटिङ गरेर टेण्डर निकालिएको छ ।



    चुस्ता, बुटलगायतका ठूलो बजेट भएका सामानको ठेक्का मुन्काको नेतृत्वको ठेकेदारको टीमलाई दिनेगरी बोलपत्रअघि नै प्रशासन बिभागका एआईजी दीपक थापा, प्रबन्ध निर्देशनालयका डीआईजी केदार ढकाल, एसपी गोविन्द पुरी र डीएसपी परशुराम मल्लले सेटिङ गरेपछि सोमबार सूचना निकालिएको छ । पिताम्बर मुन्का विवादित ठेकेदार हुन् । मुन्काले भारतको गुणस्तर परीक्षण गर्ने कम्पनी एसजीएसको गुणस्तर रिपोर्ट नै कीर्ते गरेपछि २०७७ पुसमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

    नेपाल प्रहरीको उलन पाइन्टको ठेक्का लिएका मुन्काले प्रहरी प्रधान कार्यालयको आँखा छलेर कमजोर गुणस्तरको कपडा बेच्ने र महँगो मूल्य असुल्न खोजेका थिए । क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रालिले २० हजार मिटर उलन पाइन्टको कपडा खरिदको ठेक्का पाएको थियो । २ करोड १६ लाख ४० हजारमा प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालय र सो कम्पनीका बीचमा सम्झौता भएको थियो ।

    सम्झौताअनुसार आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्न प्रहरी हेडक्वार्टरले ३० साउन २०७७ मा भारतको चेन्नईमा पठाएको थियो । तर, मुन्काका प्रतिनिधि नरेन्द्रनाथ पौडेलले दुई दिनपछि फेरि प्रहरी हेडक्वार्टरको कागजात स्क्यान गरेर सोही ल्याव (एसजीएस चेन्नई, भारत) मा कपडाको अर्को नमुना पठाएका थिए ।

    प्रहरी प्रधान कार्यालयमा आफ्नो कम्पनीले बुझाएको स्याम्पल फेल हुने डरले मुन्काले कुरियरमार्फत अर्को नमुना परीक्षण गर्न पठाएपछि त्यसबारे प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालेको थियो । प्रहरी प्रधान कार्यालयमा उनले पेश गरेको कपडाको नमुना र दोस्रोपटक चेन्नई पठाएको नमुनाको गुणस्तर फरक रहेको पाइएको थियो ।

    यसरी कीर्ते गरेको ठहरिएपछि उनलाई प्रहरीले पक्राउ गरी ठगीमा मुद्दा चलाएको थियो । गुणस्तर रिपोर्ट नै कीर्ते गर्ने तिनै मुन्कालाई अहिले नेपाल प्रहरीले चुस्तासहित बीसौं करोडका सामानको ठेक्का दिन तयारी गरेको छ । बोलपत्र सूचनाअघि नै मुन्काको टीमसँग छलफल गरी कमिसनको दररेटमा सहमति भएको स्रोतले अनलाइन नेपालसँग बताएको छ । आइजीपी कुँवरले खरिदमा भएको यस किसिमको सेटिङमा मौनता साँधेका छन् । यसले उनको पनि मिलमेतो भएको कुरालाई पुष्टि गर्ने आधार मिल्छ ।

    प्रहरीमा स्पेसिफिकेसन चेन्ज गरेर सेटिङमा जसले बढी कमिसन दिन्छ, त्यसलाई ठेक्का दिनका लागि सोमबार निर्णय गरी टेण्डर सूचना गोरखापत्रमा छापिएको थियो । लत्ताकपडा खरिदमा निश्चित ठेकेदारसँग सेटिङ गरेर स्पेक परिवर्तन गर्ने क्रममै निश्चित ठेकेदारले मात्र पाउनेगरी सेटिङ गरेका छन् ।

    त्यसैगरी नेपाल प्रहरीले चुस्तासहितका १९ वटा सामानको बोलपत्र सूचना पिताम्बर मुन्काहरुको सेटिङमा निकालिसकेको छ । अब हिमाली क्षेत्रमा खटिने प्रहरीका लागि ३० करोड भन्दा बढीको सामान खरिदको टेण्डर सूचना निकाल्ने तयारी भइरहेको छ । यसै हप्ता हिमाली सामानको ठेक्काको बोलपत्र निकाल्ने तयारीमा प्रबन्ध निर्देशनालय छ । चुस्तासहितका सामानको ठेक्का मुन्कालाई दिने तय गरेको प्रशासन बिभागले हिमाली सामानको ठेक्का भने अर्का बदनाम ठेकेदार राजमान मिश्रका पार्टनर पिताम्बर अधिकारीलाई दिने गरी कुरा मिलाइसकेको स्रोत बताउँछ ।

    सशस्त्र प्रहरीले हिमाली सामानको टेण्डर गरी खरिद गरिसकेको छ । नेपाल प्रहरीले पनि हिमाली जिल्लामा खटिनेका लागि भनेर हिमाली आइटम खरिदको टेण्डर गर्ने भएको छ । प्रहरीको प्रबन्ध निर्देशनालयले अधिकारीकै कम्पनीसँग मिल्नेगरी स्पेक राखेर टेण्डर गर्ने तयारी गरेको छ । विवादित ठेकेदार राजमान मिश्र आफ्नो कम्पनी बदनाम भएपछि पिताम्बर अधिकारीलाई अगाडि सारेर २१ वटा जिल्लामा हिमाली सामानको ठेक्का लिनेगरी अगाडि बढेका छन् । मिश्रको पूर्व आईजीपी धिरजप्रताप सिंह र एआईजी थापासँग सेटिङ चल्दै आएको हेडक्वार्टरकै अधिकारीहरु बताउँछन् । पटक–पटक कालो सूचीमा परेका मिश्र र गुणस्तर रिपोर्ट नै कीर्ते गरी पक्राउ परेका मुन्काहरुलाई अन्य ठेकेदारले सामान नै दिन नसक्ने जस्तो गरी प्रहरी प्रधान कार्यालयले किन उनीहरुबाटै खरिद गर्न खोज्दैछ ? यसलाई गहिरो रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोतल्ने हो भने प्रहरीभित्रको ठूलो भ्रष्टाचार रोकिने निश्चित रहेको प्रहरी स्रोत नै बताउँछ ।

    मिश्र कुनै बेला मुन्काका कर्मचारी थिए । प्रहरीमा सामान सप्लाई गर्दा ठूलो फाइदा हुने देखेपछि उनी आफै कम्पनी खोलेर ठेक्कापट्टामा लागेका हुन् । प्रहरी भित्र ठूलो भ्रष्टाचार हुन लागेको कुरा हालै अख्तियारले एमआरआई खरिद प्रकृया रोकेपछि पुष्टि भएको छ । प्रहरी अस्पतालका लागि खरिद गर्न लागिएको १८ करोड पर्ने एमआरआई मेसिन २९ करोडमा खरिद गर्न लागिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले खरिद प्रकृया नै रोक्न निर्देशन दिएको थियो । धिरजप्रताप सिंहका पालामा उक्त मेसिन खरिद गरी १० करोड भन्दा बढी कमिसन खाने प्रपञ्च गरिएको थियो ।

    अहिले प्रहरीमा हावी हुन लागेका ठेकेदार अधिकारीलाई मिश्रले पार्टनर राखी काम गर्न लागेका छन् । धिरजप्रताप आईजीपी हुँदा गुणस्तर फेल भएको म्याट्रेस खरिदमा भएको भ्रष्टाचारमा बदनाम भएकाले मिश्रले पिताम्बरको कम्पनीबाट ठेक्का लिन लागेका हुन् । जिल्लामै बजेट पठाएर प्रबन्ध निर्देशनालयबाट सेटिङ गरी मिश्रबाट म्याट्रेस र केशर प्रधानबाट गुणस्तर फेल भएको डीएमएस बुट खरिद गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेपनि सिंहकै सेटिङमा उजुरीमाथि छानविन हुन सकेको छैन ।

    केन्द्रबाट सेटिङ गरी जिल्लाबाट खरिद गरेको बिषयमा विवाद भएपछि यो पटक हिमाली सामानको ठेक्का प्रहरी प्रधान कार्यालयबाटै टेण्डर निकालेर मिश्रको डिजाइनमा पिताम्बर अधिकारीको कम्पनीलाई दिने निश्चित गरी टेण्डर निकाल्न लागिएको छ । नेपाल प्रहरीमा चालु आर्थिक बर्षमा हतियारबाहेक लत्ताकपडा र जुत्ताजस्ता सामान खरिदका लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट छुट्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार