Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल प्रहरीमा १ अर्ब बढीको लत्ताकपडाको बोलपत्र, ठेकेदारसँग सेटिङपछि टेण्डर सूचना निकालियो !

    नेपाल प्रहरीमा १ अर्ब बढीको लत्ताकपडाको बोलपत्र, ठेकेदारसँग सेटिङपछि टेण्डर सूचना निकालियो !

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 5.1K
    SHARES

    गृहमन्त्रीको सुशासनको नारा, हात्तीको देखाउने दाँत मात्रै हो ?
    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सुशासन र शुद्धिकरणका चर्का भाषण गरिरहेका छन् । तर उनीहरुकै मातहतको प्रहरीको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले लत्तापकडा खरिदमा ठूलै चलखेल गरेको तथ्य फेला परेको छ ।

    प्रशासन विभागका प्रमुख एआईजी दीपक थापा नेतृत्वको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले चालु आर्थिक बर्षको लागि चुस्ता, डीएमएस बुट, ऊलन सर्ट–पाइन्टको कपडा, पार्का ज्याकेट, स्लीपीङ ब्याग, ऊलन स्वीटर, स्पोर्ट जुत्ता, मिन्क ल्ब्लाकेट, अन्डर ट्राउजर भेष्ट सेट खरिदको बोलपत्र मंगलबार निकालेको छ ।



    त्यस्तै, पन्चु, मस्वीटोनेट (झुल), ट्रयाकसुट,रुकस्याक ब्याग, ब्लू डांग्री क्लोथ, ब्यारेट क्यापसहित १९ वटा सामानको बोलपत्र निकालेको छ । सबैभन्दा बढी बजेट चुस्ता र बुटमा हुन्छ । चुस्तामा करिब सवा १६ करोड र बुटमा ११ करोड बजेट छ । त्यस्तै पार्का ज्याकेट ६ करोड, ऊलन सर्ट ७ करोड ७५ लाख, स्पोर्ट जुत्तामा ६ करोड, ट्याकसुटमा ८ करोड गरी करिब १ अर्बभन्दा बढीको लत्ताकपडाको टेण्डरमा ठेकेदारसँग पहिले नै सेटिङ गरिसकिएको स्रोतको दाबी छ ।



    यी सामान खरिदका लागि निश्चित ठेकेदारसँग सेटिङ गरी प्रहरीको प्रबन्ध निर्देशनालययबाट मंगलबार एक लट सामानको बोलपत्र सूचना निकालिएको छ । थप हिमाली सामानको बोलपत्र यसैसाता बोलपत्रको सूचना निकालिंदैछ ।

    नेपाल प्रहरीमा २ बर्षअघि चुस्ता परिवर्तन भएको थियो । २ बर्षअघि परिवर्तन भएको चुस्ता गएको आर्थिक बर्षसम्म प्रतिमिटर करिब ५ सय रुपैयाँमा लिने गरिएको थियो । तर, यो बर्ष ७ सय ५० रुपैयाँमा खरिद गर्नेगरी ठेकेदारसँग सेटिङ गरिएको स्रोतले बताएको छ । प्रहरी र सेनामा चुस्ता नसिलाई कपडामात्र बुझाउने चलन थियो । सशस्त्रमा सिलाएर दिनुपर्ने ब्यवस्था रहेको छ ।

    तर, यसपटकदेखि प्रहरीमा पनि चुस्ता ठेकेदारले सिलाएर दिनुपर्ने गरी टेण्डर गरिएको छ । प्रशासनका एआईजी थापाले प्रहरीमा पनि सिलाएर दिनुपर्ने ब्यवस्था गर्नुका पछाडि बजेटको आकार बढ्ने भएकाले हो ।

    बढेको बजेटबाट थप लाभ लिन सकिने भएकाले सिलाएर दिने निर्णय गरिएको स्रोत बताउँछ । हालसम्म प्रहरीले ३ सय २५ रुपैयाँको दरले खरिद गरेको ब्यारेट क्याप दोब्बर बृद्धि गरी ८ सय २५ रुपैयाँमा खरिद गर्न लागिएको छ ।

    ठेकेदारले त्यही ३ सय ५० रुपैयाँकै ब्यारेट क्याप आपूर्ति गरी बढेको मूल्यको ५० प्रतिशत घुस दिनेगरी सेटिङ भएको स्रोतको दाबी छ । ब्यारेट क्यापमै विगतको भन्दा ४ सय ७५ रुपैयाँ महंगोमा खरिद गर्नगरी टेण्डर गरिएको छ ।

    त्यसैगरी, ज्याकेट, पन्चु, सर्ट पाइन्टको टेण्डरमा समेत सेटिङमै निश्चित ठेकेदारलाई दिनेगरी स्पेसिफिकेसन राखी टेण्डर सूचना निकाल्न लागिएको छ । प्रहरीमा स्पेसिफिकेसन चेन्ज गरेर सेटिङमा जसले बढी कमिसन दिन्छ, त्यसलाई ठेक्का दिनका लागि सोमबार (आज) निर्णय गरी टेण्डर सूचना गोरखापत्रमा पठाउन लागिएको छ । लत्ताकपडा खरिदमा आइजीपीले ग्रिन सिग्नल दिएपछी प्रशासनका एआईजी, प्रबन्धका डीआईजी र डीएसपीले निश्चित ठेकेदारसँग सेटिङ गरेको आरोप छ ।

    आर्थिक प्रशासनमा कहिल्यै नबसेका आईजीपीलाई खरिदमा चलखेल हुने कुरा थाहा नभएपनि उनले सबै अधिकार प्रबन्धलाई दिएको बुझिएको छ। लत्ताकपडाको स्पेक परिवर्तन गर्ने क्रममै निश्चित ठेकेदारले मात्र पाउनेगरी सेटिङ गरिएको छ ।

    सशस्त्र प्रहरी बलले हिमाली जिल्लामा काम गर्ने जनशक्तिका लागि ३५ करोड बराबरको हिमाली सामानहरु खरिद गरेपछि नेपाल प्रहरीले पनि त्यसलाई अनुशरण गरेको छ । प्रहरीले पनि हिमाली जिल्लामा खटिनेका लागि भनेर हिमाली आइटम खरिदको टेण्डर गर्दैछ । स्रोतका अनुसार हिमाली आइटमको टेण्डर पनि सेटिङमै पिताम्बर अधिकारीको कम्पनीलाई दिनेगरी निकालिंंदैछ ।

    प्रहरीको प्रबन्ध निर्देशनालयले अधिकारीकै कम्पनीसँग मिल्नेगरी स्पेक राखेर टेण्डर गरे तयारी थालेको छ । विवादित ठेकेदार राजमान मिश्रले आफ्नो कम्पनी बदनाम भएपछि पिताम्बर अधिकारीलाई अगाडि सारेर २१ वटा जिल्लामा हिमाली सामानको ठेक्का लिनेगरी अगाडि बढेका छन् ।

    अधिकारीलाई मिश्रले पाटनर राखी काम गर्न लागेका छन् । धिरजप्रताप सिंह आईजीपी हुँदा गुणस्तर फेल भएको म्याट्रेस खरिदमा भएको भ्रष्टाचारमा बदनाम भएकाले उनले पिताम्बरको कम्पनीबाट ठेक्का लिन लागेका हुन् ।

    जिल्लामै बजेट पठाएर प्रबन्ध निर्देशनालयबाट सेटिङ गरी मिश्रबाट म्याट्रेस र केशर प्रधानबाट गुणस्तर फेल भएको डीएमएस बुट खरिद गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । तर, सिंहले नै आफु फस्ने भएपछि अख्तियारसँग सेटिङ गरी छानविनलाई तुहाएको अख्तियार निकट स्रोतले जनाएको छ।

    केन्द्रबाट सेटिङ गरी जिल्लाबाट खरिद गरेको बिषयमा विवाद भएपछि यो पटक हिमाली सामानको ठेक्का प्रहरी प्रधान कार्यालयबाटै टेण्डर निकालेर मिश्रको डिजाइनमा पिताम्बर अधिकारीको कम्पनीलाई दिने निश्चित गरी टेण्डर निकाल्न लागिएको छ ।

    नेपाल प्रहरीमा चालु आर्थिक बर्षमा हतियारबाहेक लत्ताकपडा र जुत्ताजस्ता सामान खरिदका लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट छुट्याइएको छ ।
    मंगलबार १ अर्बभन्दा बढीको टेण्डर गरिएको छ भने हिमाली सामानको अर्को टेण्डरमा पनि सेटिङ भइसकेकाले प्रहरीको प्रबन्ध निर्देशनालयले यही साता बोलपत्र सूचना निकाल्दैछ ।

    प्रशासन विभाग अन्तर्गतको प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयका डीआईजी केदार ढकाल छन् । एसपी गोविन्द पुरी र डीएसपी परशुराम मल्ल छन् । मल्ल ठाकुरप्रसाद ज्ञवाली आईजीपी हुँदादेखि प्रबन्धमा कार्यरत छन् । उनी इन्स्पेक्टर हुँँदै डीएसपी बढुवापछि पनि प्रबन्धमै कार्यरत छन् । प्रशासन विभाग र प्रबन्धका चार जना र ठेकेदारहरुको सेटिङमा खरिदमा घोटाला हुन लागेको स्रोत बताउँछ ।

    आज निकालिएको लत्ताकपडाको बोलपत्र सूचनाको कमिशनको खेलको बारेमा  अख्तियारले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई बेलैमा सचेत नगराउने हो भने प्रहरीमा सुडान जस्तै डरलाग्दो काण्ड दोहोरिने निश्चित रहेको एक उच्च प्रहरी अधिकारी दाबी गर्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार