Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हिमाली आइटम र ब्यारेट क्यापको ठेक्का रद्द, अल्पाइन हिमालयनलाई कालोसूचीमा नराखी उन्मुक्ति

    हिमाली आइटम र ब्यारेट क्यापको ठेक्का रद्द, अल्पाइन हिमालयनलाई कालोसूचीमा नराखी उन्मुक्ति

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले गुणस्तर फेल भएको नमूना पेश गरेकाले हिमाली आइटम (जुत्ता, पार्का ज्याकेट)लगायतको बोलपत्र रद्द गरेको छ ।

    प्रहरीको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले आइतबार हिमाली आइटमका अलावा ब्यारेट क्यापको बोलपत्र रद्द गरेको हो । राजमान मिश्र र ज्ञानेन्द्र अधिकारीको अल्पाइन हिमालयन प्रालिले हिमाली आइटमको ठेक्का सेटिङ गरी लिन खोजेको थियो ।



    जसअनुसार मिश्र र अधिकारीले गुणस्तर फेल भएको नमूना पेश गरेको थियो । गुणस्तर फेल भएको नमूना पेश गरेको सूचना आइजीपी बसन्तबहादुर कुँवरले पाएपछि उनले मानवस्रोत विभागका एआईजी टेकप्रसाद राईको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।



    छानबिनका क्रममा अल्पाइन हिमालयले गुणस्तर फेल भएको नमूना पेश गरेको पुष्टि भएपछि आइतबार प्रबन्ध निर्देशनालयले हिमाली आइटमको टेण्डर नै रद्द गरेको छ ।

    जानी जानी फेल भएको नमूना पेश गरी प्रहरीलाई झुक्याउने र गुणस्तरहीन सामान दिने नियतले अल्पाइन हिमालयको बैंक ग्यारेन्टी जफत गरी कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्नसक्ने ब्यवस्था छ ।

    तर प्रबन्ध निर्देशनालयका केदार ढकालले टेण्डर मात्र रद्द गरी राजमान मिश्र र ज्ञानेन्द्र अधिकारीलाई जोगाएका छन् । स्पेक अनुसारको नमूना नभएका कारणले ब्यारेट क्यापको टेण्डर रद्द भएको हो ।

    ३७ हजार पिस ब्यारेट क्याप खरिदका लागि टेण्डर गरिएको थियो । जुन टेण्डर भागबण्डामै दिन लागिएको थियो । तर प्रहरीको स्पेक अनुसारको नमूना पेश गर्न नसकेपछि रद्द गरिएको छ ।

    यसअघि गतबर्ष टोपेन्द्र बीसीले पाएको ब्यारेट क्यापको ठेक्का पनि रद्द भएको थियो । ३७ हजार पिस ब्यारेट क्यापको ठेक्कामा अनुमानित लागत बजेट भन्दा बढी दरमा बोलपत्र पेश गरेकाले रद्द गरिएको थियो । बीसीले नमूना पनि पेश नगरी सिंगापुरको ब्यारेट क्याप भनेर तीन गुणा बढी मूल्यमा बोलपत्र पेश गरेका थिए ।

    त्यसो त गतबर्ष नेपाल प्रहरीको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयबाट हिमाली आइटम खरिदमा भएको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जिल्लाका प्रहरी प्रमुख र लेखापालहरुसँग बयान लिइरहेको छ ।

    खरिद अनियमिततामा प्रहरीका हाकिम र सिपाही हवल्दारले अख्तियार धाइरहेको अवस्थामा यो बर्ष त झन् गुणस्तर फेल भएको हिमाली आइटम खरिदका लागि चलखेल भएको थाहा पाएपछि आईजीपी बसन्तबहादुर कुँवरले मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईको अध्यक्षतामा छानबिन समिति नै बनाएका थिए ।

    अनलाईन नेपालले गुणस्तर फेल भएको हिमाली आइटम खरिद प्रकरणको समाचार प्रकाशित गरेपछि आईजीपी कुँवरले छानबिन समिति बनाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार