Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • युवा व्यवसायी प्रविन गुरुङद्वारा एनआरएनए उपमहासचिवमा उम्मेदवारी दर्ता

    युवा व्यवसायी प्रविन गुरुङद्वारा एनआरएनए उपमहासचिवमा उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 966
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपमहासचिव पदमा प्रविन गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

    विश्वका एनआरएनए एउटै मालामा, संस्थाको शाख जोगाउने हाम्रै पालामा’ भन्ने मुलनारासहित उनले संघको सचिवालयमा रहेको निर्वाचन समितिमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । समितिका संयोजक यादवप्रसाद ढुंगाना तथा सदस्य टिबी कार्कीलाई गुरुङले उम्मेदवारीको मनोनयन बुझाएका छन् ।



    उम्मेदवारी दर्तापछि बोल्दै गुरुङले संघमा आफ्नो लामो अनुभव, प्रतिवद्धता, क्रियाशीलताका कारण अझै पनि थप योगदान गरौं भन्ने भावनाले आगामी कार्यकालको लागि उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।



    हाल उनी कतारलाई कर्मथलो बनाएर विभिन्न व्यवसायमा लगानी गरिरहेका छन् । गुरुङ गोरखामा जन्मिएर चितवन बस्दै आएर हाल कतारमा सफल व्यवसायीको पहिचान बनाएका छन् ।

    गुरुङ १९९७ मा भारतीय सेनामा भर्ती भएर झन्डै आठ वर्ष काम गरेपछि गैर आवासीय नेपाली संघमा आवद्द भएका हुन । उनले नेपाली कला र संस्कृतिलाई जगेर्ना, प्रवर्दन गर्ने उद्देश्यले कतारको दोहामा रहेकोे पाँचतारे होटलमा नेपाली लोक दोहोरी, गजलसहितको अन्तरार्ष्ट्रिय रेष्टुरेन्ट सञ्चालन गरेका छन् ।

    उनले अहिले अरबी, युरोपियन लगायत फरक–फरक इन्टरनेशनल स्तरका रेष्टुरेन्टहरु समेत विस्तार गरिसकेका छन् । यसबाहेक कन्स्ट्रक्सन, हस्पिटालिटी, रियल स्टेट, हाईड्रो लगायत विभिन्न व्यवसायमा पनि उनी संलग्न छन् । गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा आफै उपस्थित भएर गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण गरेका थिए ।

    उनले एनआरएनएले सुरूवात गरेको लाप्राक बस्तीमा ५७३ भवनसहितको स्थायी वासस्थान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने बारा–पर्सालगायतका जिल्लामा हावाहुरीका कारण घरवारविहीन भएकालाई मध्यपूर्व र मलेसियाको संयुक्त नेतृत्वमा आफै उपस्थित भएर ३०० घरधुरीलाई अस्थायी बसोवास, खाद्यान्न, स्वास्थ्य सामग्रीको व्यवस्थासमेत गरेका थिए ।

    साथै बाढीपहिरोका कारण सिन्धुलीलगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिमा राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका व्यक्तिहरुको सहयोगमा १५० भन्दा बढी घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अस्थायी वासस्थानको व्यवस्था गर्नेलगायत विविध मानवीय कार्यमा उनको महत्वपूर्ण भूमिका छ ।

    २०१५-१७ मा एनआरएनए कतारका उपाध्यक्ष, २०१७-१९ मा मध्यपूर्व उप संयोजक २०१९–२०२१ मा मध्यपूर्व संयोजक र २०२१–२०२३ मा सचिवमा निर्विरोध निर्वाचित भएका गुरुङ एनआरएनएमा धेरै सम्भावना बोकेका युवा हुन् ।  एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरु पुगिसकेका गुरुङ सबैको रोजाईमा पर्ने सम्भावना छ ।

    यस्तै गुरुङले आफ्नो ११ बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन् । सीप र पूँजीको सदुपयोगः विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने लगायत उनका प्रतिबद्धता छन् ।

    यस्ता छन् गुरुङका प्रतिबद्धता पत्र

    १. सुरक्षित र मर्यादित वैदेशिक रोजगारीः वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै छ तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी छ । स्वदेशमानै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका गर्नका लागि मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरूको समस्यालाई नजिकबाट बुझेकाले उहाँहरूको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ। सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्य गर्न मेरो उम्मेदवारी हो ।

    २. सामुहिक लगानीः आम नेपालीले सोचेको शुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउन मेरो उम्मेदवारी हो। सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकास लगानी गर्न पहल गर्नेछु।

    ३. सीप र पूँजीको सदुपयोगः विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्न मेरो उम्मेदवारी हो।

    ४. स्मार्ट एनआरएनए बनाउनः विदेशमा रहेका सवैको अपनत्व हुने गरी सबै वर्ग, क्षेत्र, उमेर, लिङ्गलाई समेट्ने गरी विधान र पद्धतिमा चल्ने निस्वार्थ र गैर राजनीतिक संस्थाका रूपमा आगाडि बढाउने प्रविधीमैत्री स्मार्ट एनआरएनए बनाउन मेरो उम्मेदवारी हो।

    ५. रेमिट्यान्सको सही सदुपयोग र लगानीः मध्यपूर्व, मलेसिया, जापान र कोरियाका समस्या तथा संभावना लगभग एउटै किसिमका छन। आज म जस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ हामीले पठाएको रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्राथमिकता हुनेछ। अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा बैदेशिक रोजगारीले ठोस योगदान पुर्‍याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो।

    ६. नागरिकताको निरन्तरताका लागिः हामीले स्थापनाकालदेखि उठाउँदै आएको नागरिकताको निरन्तरताको विषय सम्वोधन भएको छ। अव यसको कार्यान्वयन सहति वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल रहनेछ साथै गोर्खा तथा पिएनओका विषयलाई अझै निष्कर्षमा पुर्‍याउन मेरो प्रतिवद्धता रहनेछ।

    ७. स्वदेशमा पर्यटन प्रवर्द्धनः पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । साथै विदेशी लगानी नेपाल भित्राउन एनआरएन मार्फत विशेष पहल गर्नेछु । सामुहिक लगानी ल्याउनको मेरो विशेष जोड रहनेछ ।

    ८. नेपाली कलासँस्कृतिको जगेर्ना गर्न नेपाली कला संस्कृतिलाई विदेशमा जगेर्ना गर्नका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्ने मेरो प्रतिवद्धता छ। विगतमा मैले गरेका कामको अनुभवले मलाई सहज हुनेछ।

    ९. एनआरएनएमा युवा आकर्षित गर्न हामी अहिले पहिलो पुस्ता एनआरएनए अभियानमा लागेका छौ तर दोश्रो पुस्तालाई आकर्षित गर्न सकिएको छैन। दोश्रो पुस्ता वा युवा केन्द्रित कार्यक्रम ल्याउने प्रतिवद्ध जनाउँछु।

    १०. एनआरएनएको परिभाषा कार्यान्वयन गर्नः गैरआवासीय नेपाली संघको स्थापनाकालमा परिभाषित र विश्वमान्यतालाई समेत आधार मानी १८२ दिनभन्दा वढी सार्क मूलुकभन्दा बाहिर वसोवास गरेका नेपाली वा नेपाली मूलका व्यक्तिहरू गैरआवासीय नेपाली हुन भन्ने मान्यतालाई कार्यान्वयन गराउन मेरो विषेश जोड रहने छ ।

    ११. खेलकूद क्षेत्रमा विकाशः हरेक नागरीकको स्वास्थ्य र व्यक्तित्व विकाससहित विश्वभरनै राष्ट्र पहिचानको लागी खेलकुद सवैमा अपरिहार्य छ। सोही आसयलाई सार्थकतामा लिनको लागी प्रदेश स्तरीय सुविधा सम्पन्न वहुउद्देश्य स्पोर्टस क्लवको अवधारणालाई लिई नेपाल सरकारसँग समन्वय गरी कार्य सम्पादन तर्फ लागीने छ।

    माथि उल्लेखित बुँदाहरू मेरा प्राथमिकतामा परे पनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सक्रिय भूमिका रहनेछ । एनआरएनए अभियानमा काम गर्ने मेरो अभिप्रायलाई एनआरएनए आईसीसी सचिवको भूमिकामार्फत पूरा गर्ने अवसरका लागि यहाँहरू सबैमा हार्दिक अनुरोध गर्दछु, अन्तमा तपाइको सद्भाव, सहयोग र सुझाव नै मेरो लागि अमूल्य नीधि हुन। एनआरएनए अभियानलाई अझ उचाईमा पुर्‍याउन प्रतिवद्ध रहनेछु ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार