Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै, ४६ युवा ठगिए

    खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै, ४६ युवा ठगिए

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 891
    SHARES

    खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् ।

    उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौंसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन् ।



    सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का खोटाङ संयोजक सन्तोष राईले एक करोड पाँच लाख १३ हजार ठगी गरेको उजुरी परेको जानकारी दिएका छन् ।



    “वैदेशिक रोजगारीमा पठाउने बहनामा ठगीमा परेको जनाउँदै चालु आर्थिक वर्षमात्रै १५ जनाले उजुरी दिएका छन् । पीडितको उजुरीमा २३ लाख ४० हजार ५०० ठगी भएको उल्लेख छ”, उनले भने, “विदेश जाने नाममा म्यानपावर र एजेन्टलाई पैसा दिए पनि लामो समयसम्म विदेश नपठाएपछि र पैसा फिर्ता नदिएपछि पीडित आप्रवासी स्रोत केन्द्रमा आइपुग्ने गरेका छन् ।”

    सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागको पहलमा हालसम्म म्यानपावर र एजेन्टबाट १० लाख ६८ हजार रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गराएको छ ।

    चालु आव स्रोत केन्द्र दिक्तेलमा परेका उजुरीमध्ये जिल्ला प्रहरी कार्यालय खोटाङले एक लाख ५० हजार सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकेको संयोजक राईले जानकारी दिए ।

    खोटाङ सबैभन्दा बढी वैदेशिक रोजगारमा जानेको सूचीमा पर्छ । वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै जिल्लामा वैदेशिक रोजगारका समस्या पनि बढ्दै गएको पाइएको हो । आव २०८०/८१ को पछिल्लो पाँच महिनामा खोटाङबाट तीन हजार ३४१ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

    यसमा महिला ३२२ रहेको स्रोत केन्द्रले जानकारी दिएको छ । दश स्थानीय तह रहेको खोटाङबाट गत वर्ष नौ हजार ८०६ जना युवाले श्रम स्वीकृति लिएको पाइएको छ। यसमा ८३१ महिला छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार