Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अयोगमा बयान दिन काठमाडौं आउन लागेका चलाउनेलाई सिआईबीले नै भगाएको खुलासा

    अयोगमा बयान दिन काठमाडौं आउन लागेका चलाउनेलाई सिआईबीले नै भगाएको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । ठूलो आर्थिक चलखेलमा सुन तस्करीका विचौलिया जीवन चलाउनेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सात महिना अघि नै छाडेको रहस्य खुलेको छ ।

    सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा चलाउनेसहित रामकृष्ण थापा र भारतीय नागरिक नन्दुकुमार पाण्डुराम मर्गलेलाई सीआईबीले पक्राउ गरेर छाडेको उल्लेख छ ।



    न्यूरोडमा सुन चाँदी पसल सञ्चालन गर्दै आएका मर्गलेसँगको मिलेमतोमा चलाउने र थापाले तस्करीको सुन किन्ने गरेको र नेपालदेखि भारतसम्म पुर्याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।



    सुन प्रकरणमा संलग्न रहेका मर्गलेका भाइ साहेबराव भने हाल पुर्पक्षका लागि जेल चलान भएका छन् । उनैले सिआईबी समक्ष दाइ नन्दुकुमारको संलग्नता रहेको बयान दिएका थिए ।

    सिआईबीले चलाउने, थापा र नन्दुकुमार मर्गलेलाई पक्राउ गरी बयान कागज गराएको र पछि सरकारी वकिल समक्ष प्रतिवेदन पेश गर्दा भने पक्राउ परेको नदेखाई फरार प्रतिवादी बनाएर पेश गरेको खुलेको हो ।

    सुन तस्करीका विचौलिया चलाउनेलाई भने सिआईबीकी तत्कालिन प्रमुख एआईजी किरण बज्राचार्यले बिदाको दिन बोलाएर बयान लिएर छाडेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भदौ २० गते कृष्ण जन्माष्टमीको दिन सीआईबीले चलाउनेलाई बोलाएर छाडेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

    चलाउनेलाई आधा घण्टासम्म आफ्नै कार्यकक्षमा राखेर एआईजी बज्राचार्यले छाडेको खुलेको छ । ठूलो आर्थिक चलखेलमा छाडेको सूचना पाएपछि आईजीपी बसन्त कुँवरले प्रतिवादी बनाएर मुद्दा चलाउन निर्देशन दिएका थिए । यसबारे आयोगले एआईजी बज्राचार्यसँग बयान समेत लिइसकेको थियो ।

    जाँचबुझ आयोगले बयानका लागि मलेसियामा रहेका चलाउनेलाई नेपाल झिकाएको थियो । तर आयोगको गोप्य कुरा थाहा पाएको सिआईबीका अधिकारीले नै चलाउनेलाई भगाएको स्रोतको दावी छ ।

    जाँचबुझ आयोग ऐन २०२६ मा अनुसन्धानमा सहयोग गरेमा मुद्दा नचल्नेदेखि सजाय छुट हुनेसम्मको व्यवस्था छ । सोही कारण पनि चलाउने वयान दिन राजी भएर नेपाल आएका थिए । तर, आफ्नो सबै पोल खुल्ने भएपछि सिआईबी प्रमुख बज्राचार्यले नै भगाउन लागाएको स्रोतको दावी छ ।

    भारतीय नागरिक नन्दुकुमार भने भेपको सुन बिक्री–वितरणमा समेत संलग्न रहेको खुलिसकेको छ । सिआईबीले नन्दकुमारका भाइ ३९ वर्षीय साहेबराव पाडुरङ मरगलेलाई पक्राउ गरेपनि नन्दकुमारलाई भने छाडेको हो । भेपको सुन चोरी गरी मरगले दाजुभाइले बिक्री गरेको खुलेको थियो । साहेबराव भने हाल पुर्पक्षका लागि जेल चलान भएका छन् ।

    साहेबरावले नै चोरीको सुन बिक्रीमा दाइ नन्दकुमारको संलग्नता रहेको बयान सीआईबीसमक्ष दिएका थिए । तर, सीआईबीले नन्दकुमारलाई प्रतिवादी समेत नबनाएको स्रोतको दावी छ ।

    २०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत ७३ बट्टामा ल्याएको ७३० थान भेपमा नौ किलो सुन भेटिएको थियो । उक्त सुन भन्सारमा रोकिएपछि त्यहीँका कर्मचारीको मिलोमतोमा चोरी गरेर बिक्री गरिएको खुलेको थियो ।

    को हुन् चलाउने ?
    जीवन चलाउने उनै व्यक्ति हुन्, जो केही वर्ष अगाडि प्रहरीकै सुराकीका रुपमा काम गर्दथे । बहिर देखाउँदा जीमी ब्राण्डको चामल व्यापार गर्ने र भित्री रुपमा आपराधिक गिरोहहरुसँग साँठगाँठ गरी चलाउनेले अवैध सम्पत्ति आर्जन गर्दै आएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसँग समेत चलाउनेको सम्पर्क रहँदै आएको छ । उनै बस्नेतको बाफलको घर पनि उच्च प्रहरी अधिकारीसँगको सेटिङमा चलाउनेले खरिद गरेका थिए ।

    काठमाडौंमा मात्र चारवटा अपार्टमेन्ट रहेको चलाउनेसँग आधा दर्जन करोडभन्दा माथिका महंगा गाडी रहेको उनलाई नजिकबाट चिन्ने एक प्रहरी अधिकारी नै बताउँछन् । चलाउने फरार हुँदा सिआईबीका अधिकारीहरुलाई समेत जानकारी रहेको ती अधिकारीको भनाई छ ।

    न्यूरोडमा हुण्डीको पैसा प्रहरीको मिलेमतोमा लुटिएको एक घटनामा पनि चलाउनेको संलग्नता रहेको छ । विकास अग्रवाल नामका हुण्डी ब्यापारीले केही वर्ष अघि सहकारीबाट रकम झिक्ने क्रममा प्रहरीकै मिलेमतोमा लुटपाट भएको थियो । चलाउनेको अग्रवालसँग कारोबार रहेको उतिबेलै खुलेको थियो ।

    बर्दियाको गेरुवा गाउँपालिका–४ घर भई काठमाडौंको चुनदेवीमा बस्दै आएका ३८ वर्षीय चलाउनेलाई जोगाउन सिआईबीमा आर्थिक चलखेल भएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा नै उल्लेख छ ।

    आयोगको प्रतिवेदनका आधारमा सरकारले सीआईबीका प्रमुख एवं एआईजी किरण बज्राचार्यालाई त्यहाँबाट हटाइसकेको छ भने सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने सीआईबीका तत्कालीन एसपी सञ्जय थापा र डीएसपी दुर्गा दाहाललाई हेडक्वार्टर तानिएको छ ।

    जाँचबुझ आयोगमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृहमन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार