Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सुन तस्करी प्रकरण : सिआईवी प्रमुखलाई आयोगको प्रश्न–चलाउनेलाई शुरुमै किन प्रतिवादी बनाइएन ?

    सुन तस्करी प्रकरण : सिआईवी प्रमुखलाई आयोगको प्रश्न–चलाउनेलाई शुरुमै किन प्रतिवादी बनाइएन ?

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 768
    SHARES

    काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यसँग सोधपुछ गरेको छ। एआइजी बज्राचार्यलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका हुन्।

    ६० किलो सुन र भेपमार्फत गरेको सुन तस्करीबारे अनुसन्धानमा देखिएको कमजोरीको सम्बन्धमा एआईजी बज्राचार्यसँग सोधपुछ गरिएको आयोगले जनाएको छ ।



    ६० किलो सुनबारे अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा र भेपबारे अनुसन्धान गरेका डिएसपी दुर्गा दाहालसँग पनि आयोगका पदाधिकारीले सोधपुछ गरेका थिए ।



    तर, अनुसार अनुसन्धान अधिकृतहरूले अनुसन्धानमा उठेका प्रश्नहरूको जवाफ नदिएपछि एआईजी बज्राचार्यलाई बोलाएर सोधपुछ गरिएको स्रोतको दावी छ । ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुनमा जोडिएका जीवन चलाउनेलाई एआईजी बज्राचार्यले उन्मुक्ति दिएको आरोप छ ।

    चलाउने विरुद्ध डिफ्युजन नोटिश जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा पत्राचार गरिएको छ । तर, अनुसन्धानको बेला सिआईबीमा बोलाएर चलाउनेलाई  थुनामा नराख्न र प्रतिवादी कायम नगर्न अधिकृतहरूलाइ एआईजी बज्राचार्यले निर्देशन दिएकाे सार्वजनिक भएकाे थियाे ।

    चलाउनेकै कारण संसदीय समितिमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच घोचपेच नै भएको थियो । त्यतिबेला गृहमन्त्री श्रेष्ठले चलाउनेविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रष्टिकरण दिएका थिए ।

    सिआईबीले भदौ २७ गते सरकारी वकिल कार्यालयलाई बुझाएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाइएको थियो भने ६ जनालाई मुद्दा नचलाउन राय दिइएको थियो । त्यतिबेला बुझाएको प्रतिवेदनमा १८ जना फरार रहेको उल्लेख थियो । जसमा १४ जना चिनियाँ नागरिक र ४ जना भने नेपाली नागरिक छन् ।

    फरार भएका नेपालीहरुमा सुन तस्कर बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने, बाराका भोला सर्राफ र जीमी नाम गरेका एक रहेका थिए ।

    यी मध्येका अछामका जीवन चलाउनेलाई सिआईबीले बयान कागज गराएर उपस्थित हुने सर्तमा छाडेको थियो । तर, उनी लगत्तै फरार भएका थिए । तत्कालिन समयमा बयान कागज गराएको व्यक्ति पनि कसरी फरार भए ? भन्ने अनलाइन नेपालको प्रश्नमा सिआईबीकी निर्देशक एआईजी किरण बज्राचार्य र प्रवक्ता एसपी नवराज अधिकारीले कुनै जानकारी नभएको भन्दै पन्छिएका थिए ।

    सुन तस्करीमा अधुरो अनुसन्धान र गिरोहको सेटिङ भत्काउन सिआईबी असफल भएको अपुरो अनुसन्धानले नै देखाइरहेका बेला जीवन चलाउने फरार भएपछि झन शंका उत्पन्न भएको थियो । किनकी चलाउने चामल व्यापारको आवरणमा विगत तीन वर्षदेखि सुन तस्करी लगायत विभिन्न आपराधिक घटनामा सक्रिय रहँदै आएका व्यक्ति हुन् । चलाउनेको प्रहरीका उच्च अधिकारीहरुदेखि राजनीति नेतृत्वहरुसँग साँठगाँठ रहेको छ । उनको दावा छिरिङसँग कनेक्सन रहेको पनि भेटिएको थियो ।

    सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा चलाउनेलाई प्रतिवादी कायम गरेको छ । तर, सिआईबीले उनलाई प्रतिवादी बनाएको थिएन । आयोगका पदाधिकारीले एआईजी बज्राचार्यसँग त्यसबारे प्रश्न गरेका छन् । यद्यपी चलाउनेलाई छाडेकोबारे बज्राचार्यले अनभिज्ञता जनाएर पन्छिन खोजेको आयोग स्राेत बताउँछ ।

    आयोगका अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख अच्युतमणि न्यौपानेसँग पनि सोधपुछ गरेका छन् । जाँचबुझ आयोगले यसअघि आइतबार अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीसँग पनि बयान लिएको थियो । सह–सचिव अधिकारी हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत छन् ।

    सरकारले असोज १४ गते सुन तस्करी प्रकरणबारे छानिबन गर्न जाँचबुझ आयोग गठन गरेको थियो । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठन भएको ४ सदस्यीय आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार