Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अपराधका बादशाह मुख्तार अन्सारीको मृत्‍यु : चर्चित कृष्णानन्द राई हत्यादेखि ६५ वटा मुद्दा दर्ता

    अपराधका बादशाह मुख्तार अन्सारीको मृत्‍यु : चर्चित कृष्णानन्द राई हत्यादेखि ६५ वटा मुद्दा दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 558
    SHARES

    एजेन्सी। उत्तर प्रदेशको बान्दा जेलमा सजाय काटिरहेका माफियाबाट शक्तिशाली नेता बनेका मुख्तार अन्सारीको बिहीबार साँझ हृदयघातका कारण निधन भएको छ । यो जानकारी कारागार प्रशासनले दिएको हो ।

    बान्दा जिल्ला कारागारमा रहेका मुख्तार अन्सारीलाई बिहीबार साँझ रानी दुर्गावती मेडिकल कलेजमा भर्ना गरिएको थियो ।



    मेडिकल बुलेटिनका अनुसार ६३ वर्षीय मुख्तार अन्सारीलाई कारागार सुरक्षाकर्मीले साँझ ८ः४५ बजे मेडिकल कलेजको आपतकालीन वार्डमा भर्ना गरेका थिए । अन्सारी लाई बान्ता भएको र अचेत अवस्थामा ल्याइएको थियो।



    अन्सारीलाई नौ चिकित्सकको टोलीले तत्काल स्वास्थ्योपचार उपलब्ध गराएको बुलेटिनमा उल्लेख छ तर सबै प्रयासका बावजुद ‘कार्डियाक अरेस्ट’का कारण उनको मृत्यु भएको थियो । बिहीबार साँझ मुख्तार अन्सारीको स्वास्थ्य बिग्रिएको खबर आएसँगै उनको गाजीपुरस्थित निवासमा मानिसहरुको भीड लागेको थियो ।

    मृत्युको पुष्टि भएपछि, पूरै उत्तर प्रदेशमा पुलिस सतर्कता बढाइएको थियो।

    उनको निवास बाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

    समाचार एजेन्सी पीटीआईका अनुसार पुलिसले अलिगढ, फिरोजाबाद, प्रयागराज, कासगञ्जलगायत राज्यका धेरै जिल्लाहरूमा अर्धसैनिक बलहरूसँग फ्ल्याग मार्च गरेको थियो।

    मुख्यमन्त्री आदित्यनाथले पनि राति नै उच्चस्तरीय बैठक बोलाएका थिए । गत वर्ष मुख्तार अन्सारीका छोरा उमर अन्सारीले बाबुको ज्यान खतरामा पर्न सक्ने आशंका व्यक्त गर्दै सर्वोच्च अदालतको ढोका ढकढकाएका थिए ।

    अदालतमा दिएको निवेदनमा मुख्तार अन्सारीलाई आफ्नो ज्यान गम्भिर खतरामा रहेको र बन्दा जेलमा मार्ने षड्यन्त्र भएको भरपर्दो सूचना प्राप्त भएको उल्लेख गरिएको छ ।

    मुख्तार अन्सारीलाई २०१९ देखि फिरौतीको मुद्दामा पञ्जाबको रुपनगर जेलमा राखिएको थियो ।

    सन् २०२१ मा उत्तर प्रदेश प्रहरीले उनलाई बान्दामा ल्यायो, त्यसपछि उनी यहीँ थुनिएका थिए ।

    उनको निधनमा कांग्रेसले प्रश्न उठाएको छ ।

    कांग्रेस नेता सुरेन्द्र राजपुतले भने, ‘केही दिन अगाडि मुख्तार अन्सारीले आफूलाई स्लो पोइजन दिइएको आरोप लगाएका थिए। र आज प्रशासनले उनको हृदयघातका कारण मृत्यु भएको भन्दैछ। यसबारे उच्चस्तरीय छानबिन हुनुपर्छ।’ कारागारमा के भइरहेको छ भन्ने जनतालाई थाहा होस् भनेर उच्च अदालतका बहालवाला न्यायाधीशको निगरानीमा छानबिन हुनुपर्छ ?’

    समाजवादी पार्टीले मुख्तार अन्सारीको निधनप्रति दुःख व्यक्त गरेको छ । सपा नेता अमिक जम्मेईले यस विषयमा विस्तृत अनुसन्धानको माग गरेका छन्।

    लखनउबाट बीबीसी संवाददाता अनन्त जनानेका अनुसार उनका भाइ अफजल अन्सारी र छोरा ओमर राति नै आफन्तसँग बन्दातर्फ प्रस्थान गरेका छन् ।

    शवलाई पोस्टमार्टमका लागि राति नै बान्द मेडिकल कलेज अस्पताल लगिएको थियो । उनको पार्थिव शरीर गाजीपुरस्थित पैतृक निवासमा लगिनेछ ।

    माफियाबाट राजनीतिज्ञ बनेका उनी उत्तर प्रदेशको पूर्वाञ्चलको मउबाट पाँच पटक विधायक निर्वाचित भएका थिए।

    गत वर्ष अप्रिलमा मुख्तार अन्सारीलाई भाजपा विधायक कृष्णानन्द राईको हत्या मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो।

    उनका भाइ तथा गाजीपुरका सांसद अफजल अन्सारीलाई पनि यस मामिलामा चार वर्षको जेल सजाय सुनाइएको थियो।

    गाजीपुर जिल्लाको मुहम्मदाबाद थानामा दर्ता गरिएको आपराधिक इतिहास अनुसार मुख्तार अन्सारी विरुद्ध कुल ६५ वटा मुद्दा दर्ता भएका छन्।

    सन् १९९६ मा मुख्तार अन्सारीविरुद्ध विश्व हिन्दू परिषद्का अधिकारी तथा कोइला व्यवसायी नन्दकिशोर रुङ्टाको अपहरण र भाजपा विधायक कृष्णानन्द राईको हत्यामा संलग्न भएको आरोपमा मुद्दा दर्ता भएको थियो।

    कृष्णानन्द राईको सन् २००५ मा हत्या भएको थियो ।अन्सारी परिवार विगत केही वर्षदेखि चर्चामा छ ।

    सेप्टेम्बर २०२२ मा, इलाहाबाद उच्च अदालतको लखनउ बेञ्चले मुख्तार अन्सारीलाई जेलरलाई धम्की दिएकोमा सात वर्षको जेल सजाय सुनाएको थियो।

    त्यसको केही दिनपछि सन् १९९९ को एउटा मुद्दामा उनलाई ग्याङ्स्टर ऐन अन्तर्गत पाँच वर्ष कैद सजाय र ५० हजार जरिवाना पनि गरिएको थियो ।

    जुलाई २०२२ मा मुख्तार अन्सारीकी श्रीमती अफसा अन्सारी र उनका छोरा अब्बास अन्सारीलाई फरार घोषित गरिएको थियो।

    अगस्ट २०२० मा, लखनऊ विकास प्राधिकरणले अफजल अन्सारीको घर भत्कायो। यो घर गैरकानूनी रुपमा बनेको आरोप छ ।

    उनीविरुद्ध विभिन्न अपराधका ६५ वटा मुद्दा विचाराधीन छन् । उनीविरुद्ध मकोका (महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट) र गैंगस्टर ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

    यी मध्ये केही महत्वपूर्ण मुद्दामा प्रमाणको अभाव, साक्षीको शत्रुता र सरकारी वकिलको कमजोर वकालतका कारण अदालतले उनीहरूलाई सफाइ दिएको थियो तर केही वर्षभित्रै कतिपय मुद्दा टुंगोमा पुगेर सजाय पनि पाएका थिए । बिबिसी हिन्दीबाट 

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार