Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कोशी प्रदेशमा सडक दुर्घटनाको स्थिति भयावह

    कोशी प्रदेशमा सडक दुर्घटनाको स्थिति भयावह

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 1.1K
    SHARES

    धरान । उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा यही चैत १ गते को१ज २५९३ नम्बरको जीप दुर्घटनामा पर्‍यो ।

    १७ जना यात्रु लिएर भोजपुरतर्फ जाँदै गरेको जीप कच्ची बाटोबाट चार सय मिटर तल खस्दा चालकसहित सातजनाको घटनास्थलमै ज्यान गयो भने एक जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गयो। घाइते भएका ९ जनामध्ये केहीको अहिले पनि उपचार भइरहेको छ।



    सोही दिन धरानबाट बराह क्षेत्रको चक्रघटी जाँदै गरेको बा२ख २००० नम्बरको बस तीन ढ्वाङ्गे भन्ने ठाउँमा सडक नजिकैको रुखमा ठोक्किए दुर्घटनामा पर्‍यो। घटनामा कसैको ज्यान नगए पनि करिब १२ यात्रु घाइते भए। गम्भीर घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएर उपचार गरियो।



    मैनामैनी र तीन ढ्वाङ्गेमा दुर्घटना हुनुभन्दा केही दिनअघि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ मा पश्चिमबाट पूर्व जाँदै गरेको स१ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१६ प ४६७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सूर्योदय नगरपालिका–३ इलामका २४ वर्षीय प्रगति राईको मृत्यु भयो ।

    पछिल्लो समय कोशी प्रदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाका केही उदाहरण मात्र हुन् यी। प्रदेशका विभिन्न जिल्लामा हरेक दिनजसो यस्ता दुर्घटना भइरहेका छन्। यस्ता दुर्घटनामा परेर वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन्।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अध्ययन गर्ने हो भने कोशी प्रदेशमा सवारी दुर्घटनामा परेर दैनिक एक जनाभन्दा बढिको ज्यान गइरहेको छ। चालू आर्थिक वर्ष २०८०/०८१ को फागुन मसान्तसम्म आठ महिनाको तथ्याङ्कअनुसार पुरुष २०६, महिला ४० र बालबालिका १६ सहित दुई सय ६२ जनाको ज्यान गइसकेको छ। यो तथ्याङ्कलाई विश्लेषण गर्दा सरदर मासिक ३३ जना अर्थात् दिनमा एक जनाभन्दा बढीको मृत्यु भएको छ।

    चालु आवको फागुनसम्ममा जम्मा दुई हजार एक सय ४२ वटा अर्थात् दैनिक सरदर ९ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ। ती दुर्घटनामा पाँच सय ५८ जना गम्भीर घाइते र तीन हजार ३५ जना साधारण घाइते भएका थिए।

    अघिल्ला आवहरुको अवस्था पनि उस्तै छ। अघिल्लो आव २०७९/०८० मा प्रदेशभर तीन हजार पाँच सय १० वटा अर्थात् दैनिक १० वटाको हाराहारीमा दुर्घटना भएका थिए। ती दुर्घटनामा परेर एक सय १९ पुरुष, ६८ महिला र २५ बालबालिका गरी जम्मा चार सय १४ जनाले ज्यान गुमाएका थिए भने गम्भीर घाइते आठ सय १० र साधारण घाइते हुनेको संख्या चार हजार सात सय ९७ थियो।

    आव २०७८/०७९ मा तीन हजार आठ सय २० दुर्घटनामा जम्मा पाँच सय ३१ जनाको मृत्यु भएको थियो। त्यस वर्ष एक हजार दुई सय तीनजना गम्भीर र पाँच हजार चार सय ४५ जना साधारण घाइते भएका थिए।

    त्यस्तै, आव २०७७/०७८ मा तीन हजार एक सय ३१ वटा दुर्घटनामा परी चार सय ४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कमा उल्लेख छ। त्यस वर्ष एक हजार ८३ गम्भीर र तीन हजार सात सय ९३ जना साधारण घाइते भएका थिए।

    सवारी दुर्घटनाका विविध कारणमध्ये प्रमुख कारण मानवीय लापरबाही नै रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्। ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अध्ययन अनुसार कोशी प्रदेशमा भएका दुर्घटनामध्ये ५३ प्रतिशत तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ ।

    त्यस्तै चालकको लापरबाहीले १६ प्रतिशत, सडक प्रयोगकर्ताको असावधानीले १२ प्रतिशत, मादकपदार्थ सेवनका कारण १० प्रतिशत, लाइसेन्स बिनाका चालकले चलाएका सात प्रतिशत रहेको पाइन्छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार