Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गगन थापाले प्रधानमन्त्रीलाई भने – फेरि यस्तो गल्ती नगर्नुहोस्, यो गल्ती सच्याउने मौका हो

    गगन थापाले प्रधानमन्त्रीलाई भने – फेरि यस्तो गल्ती नगर्नुहोस्, यो गल्ती सच्याउने मौका हो

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा रेक्टर र रजिस्ट्रारसहितका पदाधिकारी नियुक्तिका विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

    बिहीबार साँझ सामाजिक सञ्जालमार्फत सांसदसमेत रहेका थापाले प्रधानमन्त्री प्रचण्डलाई खुला पत्र लेख्दै ध्यानाकर्षण गराएका हुन् ।



    उनले त्रिविका उपकुलपतिले दलीय प्रभावबाट अलग रहेर रेक्टर र रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको तर उनको प्रयासलाई प्रधानमन्त्रीले रोकेको खबरबारे ध्यानाकर्षण गराए ।



    ‘प्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक आग्रह छ, फेरि यस्तो गल्ती नगर्नुहोस् । यो गल्ती सच्याउने मौका हो, विश्वविद्यालयलाई दलीय भागबन्डाको दलदलबाट निकाल्ने मौका हो, प्रक्रियालाई अवरोध होइन, कुलपतिको हैसियतले सहजीकरण गर्नुहोस्,’ उनले भनेका छन् ।

    उनले आफूहरूले विश्वविद्यालयहरूमा हुने नियुक्ति दलीय भागबन्डाबाट मुक्त बनाउन निरन्तर प्रयास जारी राखेको पनि बताएका छन् ।

    यस्तो छ महामन्त्री गगन थापाको खुला पत्र

    सम्माननीय प्रधानमन्त्रीज्यू,
    स्वीकार्नै पर्छ, हाम्रै व्यवस्थापकीय कमजोरीका कारण हाम्रा विश्वविद्यालय दलीयकरणको दुष्चक्रमा फसेर थला परेका हुन् । त्यो कमजोरी सच्याउने जिम्मेवारी हाम्रै हो । यही सोंचका साथ केही समयदेखि विश्वविद्यालयलाई दलीयकरणको दलदलबाट निकाल्न प्रयास गर्दै आएका छौं ।

    यसका निम्ति हालका कानून बदल्नुपर्छ, भन्नेमा प्रष्ट छौं, सरकारले ल्याउने उच्च शिक्षा सम्बन्धि विधेयकमा संसदमा काम गर्नु पर्ने छ, गर्ने नै हो । तर, ती कानून बन्नुभन्दा अगाडि विश्वविद्यालयहरूमा जति पनि नियुक्ति हुन्छन दलीय भागबण्डाबाट मुक्त भएर गरियोस् भन्ने कुरामा हाम्रो प्रयास निरन्तर छ ।

    यसपटक त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया बदल्न हामीले गरेको वकालत र प्रयासमा तपाईं अनविज्ञ हुनुहुन्न । यद्यपि त्रिवि उपकुलपतिको नियुक्ति प्रक्रिया जुन ढङ्गले गरियो त्यसमा हाम्रो प्रश्न नै रह्यो ।

    तर, अहिले त्रिविका उपकुलपति स्वयंले दलीय प्रभावबाट अलग रहेर प्रचलित कानून बमोजिम रेक्टर र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको देख्दा केही आशा पलाएको थियो । तर, त्यो प्रयासलाई पनि तपाईंले रोक्नुभयो भन्ने खबर छ ।

    प्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक आग्रह छ, फेरी यस्तो गल्ति नगर्नुहोस् । यो गल्ति सच्याउने मौका हो, विश्वविद्यालयलाई दलीय भागबण्डाको दलदलबाट निकाल्ने मौका हो, प्रक्रियालाई अवरोध होइन कुलपतिको हैसियतले सहजिकरण गर्नुहोस् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार