काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी प्रर्दशनमा गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भन्ने प्रमाण ल्याउन चुनौती दिएका छन् ।
भक्तपुरको गुण्डुस्थित तिथली चोकमा नेकपा एमाले भक्तपुरले आयोजना गरेको विशेष राजनीतिक भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् ।
उनले भने-'कुनै कानूनले प्रधानमन्त्रीले आदेश दिन्छ ? दिँदैन । आदेश कसले दिएको हो ? हाम्रो अध्यक्षले आदेश दिएको भए प्रमाण ल्याउनुस् । हामी छलफल गर्न तयार छौँ। केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ ।'
उनले जेनजीले लक्षित टिप्पणी गर्दै पार्टीका अध्यक्ष ओलीलाई छोए देशभर आगो बल्ने चेतावनी दिएका हुन् ।
त्यस्तै युवा संघले असोज २५ गते काठमाडौंको तीनकुनेमा दिउँसो ३ बजे मोटरसाइकल र्याली गर्ने बस्नेतले बताए ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता छन् भने शंकर पोखरेल, भानुभक्त ढकाल, राजन भट्टराई, लालबाबु पण्डित, महेश बस्नेतलगायतका नेताहरूको सहभागिता छ ।