काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आसन्न महाधिवेशन मंसिर मसान्तभित्रै नियमितरूपमा सम्पन्न गर्न सकिने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महामन्त्री शर्माले यस्तो बताएका हुन ।
नियमित महाधिवेशन छोटो समयमा गर्न नसकिने निष्कर्षमा केन्द्रीय समिति पुगेमा विशेष महाधिवेशन विकल्पको रूपमा रहेको उनले बताए ।
उनले भने, "नियमित महाधिवेशन मंसिर मसान्तभित्रै गर्न सकिन्छ । यसले सभापतिज्युको बहिर्गमनलाई पनि सहज बनाउनेछ ।"
शर्माले नियमित महाधिवेशनका लागि रातदिन खट्न सक्ने नेतृत्व चाहिनेमा जोड दिएका छन् ।
त्यसका लागि कार्यवाहकले तयारी गर्ने वा अन्य कुनै सिनियर नेताले संयोजन गर्ने भन्ने टुंगो लगाउनु उचित हुने उनको भनाइ छ ।