जनकपुरधाम । जनकपुरमा गएराति प्रहरी र व्यवसायीबीच झडप हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये १० जना प्रहरी र एक व्यवसायी रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटना जनकपुरधामको सोनारपट्टीस्थित सञ्जय ठाकुर ज्वेलर्समा प्रहरीले शुक्रबार छापा मार्ने क्रममा भएको हो । प्रहरीका अनुसार भारतबाट अवैधरूपमा चाँदी ल्याइएको सूचनाका आधारमा टोली छापा मार्न पुगेको थियो ।
सो ज्वेलर्सबाट करिब सात किलोग्राम बिलरहित चाँदी बरामद गरेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६–७ राउन्ड हवाई फायर र ३–४ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
झडपका क्रममा दुई प्रहरीको टाउकोमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उक्त छापा राजश्व अनुसन्धान विभागसँगको समन्वयमा गरिएको थियो । घटनाको विस्तृत अनुसन्धान भइरहेको र बरामद चाँदीबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।