विराटनगर । हेल्मेटभित्र लुकाएर ल्याइएको करिब साढे ८ लाख रुपैयाँसहित एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन् । मोरङ प्रहरीले शनिबार दिउँसो विराटनगर महानगरपालिका–१२ सैनिक टोलबाट ८ लाख ४७ हजार रुपैयाँ बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले दिउँसो करिब १ बजेतिर भारतीय नम्बर प्लेट (बीआर ३८ भी ३३२८) भएको मोटरसाइकल रोकेर चेकजाँच गर्दा रकम फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल चालक मोरङको जहदा गाउँपालिका–७ का ४६ वर्षीय नवीन साहले लगाएको हेल्मेटभित्र उक्त रकम लुकाएर ल्याइरहेका थिए।
प्रहरीले साहको हेल्मेटबाट १ हजार दरका ८ सय, ५ सय दरका ५१, १ सय दरका १ सय ४६ र ५० दरका १ सय २ थान नेपाली नोट बरामद गरेको जनाएको छ।
साहले बरामद रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीको प्रारम्भिक अनुमान अनुसार बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ ।
पक्राउ परेका साह, बरामद रकम र मोटरसाइकल अहिले इलाका प्रहरी कार्यालय रानीमा राखिएको र इन्स्पेक्टर कवीन राईको नेतृत्वमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।